२०८१ मंसिर ८, शनिवार , ०२:३१:३४ बजे

Sajhamanch
'

‘सहकारी ऐन २०७४ संशोधन नभए कुनै पनि संस्था बहुउद्देश्यीय नरहने’ : अभियन्ता उप्रेती

आइतवार, पौष १७, २०७९

बिर्तामोड । झापाको पुरानो मध्येको एक अग्रणी सहकारी लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २६औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीको प्रमुख आतिथ्यमा साधारणसभा उद्घाटन गरिएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सहकारी अभियन्ता उप्रेतीले सहकारी ऐन २०७४ समयानुकूल संशोधन गरिएन भने नेपालका कुनै पनि संस्था बहुउद्देश्यीय रहिरहन नसक्ने उद्घोष गरे ।

सहकारी ऐनमा बहुउद्देश्यीय प्रकृतिको सहकारीले ७० प्रतिशत उत्पादनमुलक व्यवसायमा र ३० प्रतिशतमात्र बचत ऋण कारोबार गर्न पाउने व्यवस्था छ । यस्तो प्रावधानले कुनै पनि बहुउद्देश्यीय सहकारी नटिक्ने भन्दै बरु कारोबारको प्रकृति फेर्न सजिलो हुने उनको भनाई छ ।

बचत तथा ऋणको कारोबारबाट संचित जगेडा कोष परिचालन गरी एनएमसीले बहुव्यवसाय गरिरहेको जानकारी गराउँदै अध्यक्ष उप्रेतीले अहिले आफ्नो संस्थाले चारवटा व्यवसायमा १० प्रतिशत हाराहारीमात्र लगानी गर्न सकेको सुनाए ।

उनले लक्ष्मी बहुउद्देश्यीय लगायत अन्य सोही प्रकृतिका सहकारीलाई सुझाउँदै भने, ‘संस्थाको जगेडाकोष मेरुदण्ड हो, यो बलियो नहुञ्जेलसम्म शेयर पुँजी र निक्षेप रकम अर्को व्यवसायमा लगानी गर्नै हुँदैन । तर उत्पादनमा गइएन भने अब सहकारी पनि टिक्दैनन् । त्यसैले निरन्तर प्रयास गर्न चाहिँ छाड्न हुँदैन ।’

संस्थाका अध्यक्ष लीलाबहादुर बस्नेतको अनुपस्थितिमा उपाध्यक्ष भगिरथ पोद्धारको अध्यक्षतामा सञ्चालित २६औं वार्षिक साधारणसभामा पोद्धारले सञ्चालक समितिको प्रतिवेदन वाचन गरेका थिए । हालसम्म ४ हजार ९५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ३ करोड २६ लाख ६१ हजार ८०० रुपैयाँ पुर्याइएको छ । प्रतिवेदन अनुसार गत असार मसान्तमा कूल निक्षेप ३२ करोड १२ लाख ४८ हजार, कर्जा लगानी ३५ करोड ९ लाख ७५ हजार, जगेडा तथा अन्य कोषहरु ४ करोड ५४ लाख ९३ हजार रहेको उल्लेख छ ।

लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले गत आर्थिकको कारोबारमा शेयर धनीहरुलाई करिब १३ प्रतिशत लाभांश प्रदान गर्ने र सक्रिय कारोबारी सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट थप रकम प्रदान गर्ने उपाध्यक्ष पोद्धारले साधारणसभा समक्ष प्रस्ताव गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाले २ जना कर्मचारीहरुलाई जनही ५ हजार रुपैयाँ पुरस्कारसहित प्रशंसापत्र प्रदान गरेको छ । कर्मचारीहरु विपन लिम्बू र मनकुमारी सापकोटालाई पुरस्कृत गरिएको हो । यस्तै ६ जना असल बचत कारोबारी सदस्यहरु र ६ जना असल ऋण कारोबारी सदस्यहरु पनि जनही २ हजार १०० रुपैयाँसहित पुरस्कृत एवम् प्रशंशित गरिएका छन् ।

सम्मानित र पुरस्कृत कर्मचारी र कारोबारी सदस्यहरुलाई रामचन्द्र उप्रेती, डिल्ली दाहाल, डा. रुपक खनाल, डा. इन्द्रकुमार कट्टेल, दिनेशकुमार पोखरेल, चन्द्रकुमार राजभण्डारी, भगिरथ पोद्धारलगायतले प्रशंशापत्र र नगद पुरस्कार हस्तान्तरण गरेका थिए ।

साधारणसभा उद्घाटन समारोहमा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, संस्थाका पूर्व अध्यक्ष डा. रुपक खनाल, एक्सल डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेलले आ–आफ्ना धारणा राखेका थिए ।

संस्थाको लेखा सुपरिवेक्षण समितिका संयोजक रोशन दाहालले सञ्चालन गरेको साधारणसभा समारोहमा आमन्त्रित अतिथि तथा सदस्यहरुलाई लेखा सुपरिवेक्षण समितिका सदस्य प्रेम थापाले शाब्दिक स्वागत गरेका थिए ।

सम्बन्धित खबर