रुद्र–गौरी प्रतिष्ठानद्वारा पाँच लाखको पुरस्कारको राशीसहित पाँच पुरस्कृृत हुँदै

March 30, 2022 5:18 pm

झापा । झापाको भद्रपुरस्थित रुद्र–गौरी, श्री–अम्बिका ओेली प्रतिष्ठानद्वारा चार विधामा पाँचजना पुरस्कृत हुने भएका छन् ।

प्रतिष्ठानले यसपटक एक जनालाई पाँच लाख रुपैयाँ राशिको पुरस्कार थप गरी चार विधामा पाँच जनालाई पुरस्कृत गर्न लागेको हो । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीद्वारा हस्ताक्षर गरी जारी प्रेस विज्ञप्तीमा जनाइए अनुसार आगामी वैैशाख ४ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरी उक्त पुरस्कारहरु समर्पण गरिनेछ ।

प्रतिष्ठानले वि. सं. २०६७ सालदेखि कृषि, साहित्य वा पत्रकारिता, महिला सशक्तिकरण, बालबालिका क्षेत्रलाई समेट्दै आएको छ । नवौं वर्षको यात्रा तय गरिरहँदा पाँच लाख रुपैयाँ राशीको ‘श्रीप्रसाद ओली स्मृति राष्ट्रिय/अन्तर्राष्ट्रिय प्रज्ञान पुरस्कार’ थप गरेको हो ।

‘वैशाख ४ गते काठमाडौंमा कार्यक्रमको आयोजना गरी नवौं संस्करणको पुरस्कार वितरण गर्न लागेका छौँ’, अध्यक्ष ओलीले भने, ‘यसवर्षदेखि पाँच लाख रुपैयाँको एउटा पुरस्कार समेत थप भएको छ ।’

पहिलोपटक प्रदान गर्न लागिएको श्रीप्रसाद ओली स्मृति राष्ट्रिय तथा अन्तर्राष्ट्रि प्रज्ञान पुरस्कारबाट हिमालय शम्शेर जबरा पुरस्कृत हुने भएका छन् । नेपालमा पहिलोपटक विनिमय दरको व्यवस्था गरी विदेशी मुद्राको प्रचलनलाई निरुत्साहन गरी नेपाली मुद्रालाई चलन चल्तीमा ल्याउन उल्लेख्य कार्य गर्नुका साथै नेपालमा स्वतन्त्र अर्थतन्त्रको जग बसाउन योगदान पुर्याएवापत उनलाई उक्त पुरस्कार प्रदान गर्न लागेको प्रतिष्ठानले प्रकाशन गरेको विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै, रूद्रप्रसाद ओली राष्ट्रिय कृषि पुरस्कार ललितपुरस्थित ‘सुभद्रा–मदन फाउण्डेसन’ र ‘चन्द्रागिरी मेशिनरी उद्योग’लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । पुरस्कार राशी एक लाख एक हजार १११ रुपैयाँ रहेको छ । कृषि क्षेत्रको व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको ठहर गर्दै यी संस्थालाई पुरस्कृत गर्न लागिएको हो ।

पुरस्कृतको सूचीमा रहेको सुभद्रा–मदन फाउण्डेशनका संस्थापक अध्यक्ष कृषिविज्ञ मदन राईको अग्रसरतामा ५० भन्दा बढी जिल्लाका बालबालिकालाई समावेशी ढंगबाट व्यवसायिक कृषि शिक्षा प्रदान गरिँदै आएको छ । विगत ७ वर्षदेखि खोटाङ जिल्लामा जीवनोपयोगी व्यावहारिक ज्ञानसहित व्यावसायिक कृषि लगायतका विषयमा शिक्षा प्रदान गरी श्रमप्रति सम्मान गर्ने प्रवृत्ति विकासका गर्न संस्था अनवरत क्रियाशील रहेको विज्ञप्तीमा जनाइएको छ ।

यसैगरी चन्द्रागिरी मेशिनरी उद्योगका अध्यक्ष गोविन्दभक्त श्रेष्ठको नेतृत्वमा सञ्चालित उद्योगले सानादेखि ठूला कृषि औजार उत्पादन गरी देशको कृषि क्षेत्रमा तथा अर्थतन्त्रमा टेवा पुर्याउँदै आएको बताइएको छ ।

प्रतिष्ठानले गौरादेवी स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार काठमाडौं निवासी युवती खड्का केसीलाई प्रदान गरिने भएको छ । उनलाई अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकलाई पुनस्र्थापना तथा सेवा, महिलाहरुको आर्थिक सशक्तिकरण योगदान वापत एक लाख एक हजार १११ रुपैयाँ राशीको पुरस्कार प्रदान गर्न लागिएको हो ।

यस्तै, अम्बिका ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार यसवर्ष विराटनगर निवासी साहित्यकार विवश पोखरेललाई प्रदान गरिने भएको छ । पोखरेल विगत साढे चार दशकदेखि निरन्तर नेपाली साहित्यको विकासमा क्रियाशील रहेको अध्यक्ष ओलीले बताएका छन् । उक्त पुरस्कारको राशी एक लाख एक हजार १११ रहेको छ ।

‘रुद्र–गौरी, श्री–अम्बिका ओेली प्रतिष्ठान’ समाजमा भएका अनुकरणीय कार्यहरूको प्रबद्र्धन गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएको गैरनाफामूलक सामाजिक संस्था हो ।

वि.स. १९८८ श्रावण १६ गते तेह्रथुम आठराई, छातेढुङ्गा वडा नं. ६, होडागाउँमा पिता रूद्रप्रसाद ओली र माता गौरादेवी ओलीको ज्येष्ठ पुत्रको रूपमा जन्मिएका समाजसेवी श्रीप्रसाद ओलीको अग्रसरता तथा प्रेरणामा यी पुरस्कारहरु स्थापना गरिएको हो ।

उनका सन्तानबाट स्थापित सो प्रतिष्ठानको प्रमुख उद्देश्य समग्र मानव हित तथा सकारात्मक समाजिक विकासमा अनुकरणीय र उल्लेख्य योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मान गरी समाजमा उल्लेख्य योगदानको लागि अभिप्रेरित गर्नु रहेको जनाइएको छ ।

          March 30, 2022 5:18 pm | मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,समाज,साहित्य

प्रतिकृयाहरू :

समाचारहरु: