‘सरकार र अदालतबीच बार्टर सम्झौता छ !’ : पूर्वप्रधानमन्त्री ओली

October 14, 2021 7:41 pm

झापा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परमादेशी गठबन्धन सरकार र अदालत सट्टापट्टामा चलेको आरोप लगाएका छन् ।

विगत लामो समयदेखि दसैंको महानवमीको दिन झापामा शुभकामना आदान प्रदान गर्ने नियमित कर्मलाई निरन्तरता दिँदै आज बिर्तामोडमा आयोजित कार्यक्रममा संक्षिप्त मन्तब्य राख्दै उनले पैसा चलन नहुँदा सामान साटफेर (बार्टर) गरेझैं अहिले अदालत र सरकार सट्टापट्टामा लागेको बताएका हुन् ।

उनले सरकारको आलोचना नगर्ने भन्दै भाषण सुरु गरे तापनि सरकारलाई कटाक्ष गर्न छुटाएनन् । तर एमालेबाट अलग भएको नेकपा एकीकृत समाजबादी र अरु दलप्रति भने टिकाटिप्पणी गरेनन् ।

निवर्तमान प्रधानमन्त्री ओलीले तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूूर्णता पाएको त्यही पनि कसैका जेठान परेको भन्दै सरकार चलाएकै पार्टीले हंगामा गरेको पनि सुनाए । यस्तो ढिलासुस्ती गर्ने सरकारले देश र जनताको हितमा कुनै काम गर्न नसक्ने उनको जिकीर थियो ।

सरकारका मुख्य अंगहरु आफ्नो मर्यादामा बस्नु पर्ने बताउँदै उनले आफ्ना लागि मात्र होइन देश र जनताका लागि काम गर्नुपर्ने बताए । दशै लगायतका चाडपर्वले नेपाली समाजलाई एकता र सद्भावमा उन्ने मालाको काम गरिरहेको उनको भनाई थियो ।

सो कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव बिनोद ढकाल, राष्ट्रिय सभाकी सांसद् कोमल ओली, प्रतिनिधिसभाकी सांसद् विमला बिक, अनेरास्ववियूकी अध्यक्ष सुनिता बराल, जनता समाजबादी पार्टी झापाका अध्यक्ष सूर्यनारायण गणेश लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता नेकपा एमाले झापाका इञ्चार्ज तथा केन्द्रीय सदस्य रविन कोइरालाले गरेका थिए भने सञ्चालन जिल्ला अध्यक्ष चिन्तन पाठकले गरेका थिए।

          October 14, 2021 7:41 pm | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित