‘ढुङ्गाको प्रेम’ कविता संग्रह लोकार्पण

October 10, 2021 8:19 pm

पाँचथर । ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकापर्ण भएको छ । पत्रकारसमेत रहेको साहित्यकार गिरिराज बाँस्कोटाद्वारा लिखित उक्त कविता संग्रहको पाँचथर सदरमुकाम फिदिममा आइतबार लोकार्पण गरिएको हो ।

शिखा बुक्सले प्रकाशन गरेको कविता संग्रहको साहित्यकार विमल वैद्यले लोकर्पण गरिदिएका हुन् । केन्जो खबर डटकमले आयोजना गरेको कार्यक्रममा विमोचन भएको कृतिमा २७ वटा कविता संलग्न छन् ।

लेखक बाँस्कोटा नेपाल पत्रकार महासंघ पाँचथर शाखाका अध्यक्षसमेत हुन् । कृतिमाथि टिप्पणी गर्दै पाँचथर बहुमुखी क्याम्पसका उपप्रमुख लक्ष्मी ढुङ्नाले नेपाली साहित्यमा हस्तक्षेप राख्न सक्ने कविता भएको चर्चा गरे । हरेक कविताले विभिन्न विषयको उजागर गरेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि वैद्यले एउटा यायावरले लेखेको कविता संग्रहले हिमाल, पहाड, तराईका विषय छोएको बताए । उक्त समारोहमा बोल्दै पाँचथरमा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले साहित्यका लागि महत्पूर्ण जिल्लाबाट पत्रकारले लेखेको पुस्तकले पक्कै महत्वपूर्ण स्थान हासिल गर्ने अपेक्षा राखे ।

कार्यक्रममा साहित्यकार प्रेम ओझा, नरेन्द्रकुमार केरुङ, राजेन्द्र जवेगु, भवानी तावा, शान्ता गौतम, मधु आजित केरुङ, सन्देश सुब्बा लगायतका साहित्यकारले रचना पाठ गरेका थिए ।

साहित्य अनुरागीहरुको उल्लेख्य उपस्थितिमा भएको उक्त कार्यक्रममा चाडपर्व विशेष शुभकामना आदान प्रदान तथा गायनसमेत भएको थियो ।

          October 10, 2021 8:19 pm | साहित्य

प्रतिकृयाहरू :

समाचारहरु:


भर्खरै प्रकाशित