२०८१ वैशाख २४, सोमवार , ०९:१०:३९ बजे

Sajhamanch
'

धादिङको सल्यानटारका विद्यार्थीले बनाए विद्युतीय गाडी

शुक्रवार, वैशाख १४, २०८१

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारको रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीले चार पाङ्ग्रे विद्युतीय गाडी बनाएका छन् ।

कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले विद्युतीय गाडी बनाएका हुन् । केही पार्टपुर्जा किनेर र केही स्थानीय रूपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको हो । दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने गाडी दुई हप्ता लगाएर तयार पारेको निर्माणमा संलग्न विद्यार्थी बसौलाले बताउनुभयो । अर्का विद्यार्थी अधिकारीले कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरेर विद्युतीय गाडी निर्माण गरेको बताउनुभयो ।

गाडीको क्षमता चालकसहित तीन जना अट्ने रहेको छ । दुई सय ५० वाटको दुई वटा मोटर र १२ भोल्टको वटा दुई ब्याट्री जडान गरिएको गाडीलाई एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिन्छ । जति बढी भोल्टको ब्याट्री जडान गर्‍यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीको भनाइ छ ।

बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा लागेको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको बताउनुभयो । गाउँपालिका र विद्यालयले गाडी बनाउने दुवै विद्यार्थीलाई सम्मान गरेको छ ।

शुक्रवार, वैशाख १४, २०८१ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर