‘माधवकुमार नेपालहरुले देशभरमा एउटा वडा सदस्य मात्रै पनि जित्दैनन्’

September 14, 2021 7:40 pm

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटा षड्यन्त्रको अंग अनि मतियार भएको टिप्पणी गरेका छन् । उनले पार्टीको कार्यकर्ताका रुपमा संवैधानिक मर्यादा उल्लंघन गरेकाले एमालेले संसद चल्न नदिएको उनको भनाई छ ।

एमालेले काराबाही गरेका १४ जना सांसदलाई साउन २५ मा नै पदमुक्त गर्न सभामुखलाई पत्र दिए पनि उनले सो को पालना नगरेको र आज तिनै गैर सांसद राखेर प्रतिनिधिसभा चलाएकाले एमालेले विरोध गरेको एमाले अध्यक्ष ओलीको जिकिर छ ।

नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘एमाले फुटाउने मग्सदले चलिरहेको संसद मध्यरातमा हठात अन्त्य गर्ने र भोलिपल्टै अध्यादेश लिएर राष्ट्रपति समक्ष पेश गर्ने कार्यले सभामुखको कार्य असंवैधानिक, अलोकतान्त्रिक एवम् दलीय व्यवस्था विरोधी भएकाले नै अहिले विरोध भइरहेको हो ।’

मन्तब्यको आरम्भमा पूर्वसहकर्मीहरु माधवकुमार नेपाल र पुष्पकमल दाहाललाई भद्धा शब्दहरुले गाली गर्दै अध्यक्ष ओलीले पार्टीको वरिष्ठ नेता रहेकै बेला नेपालले अरुको इशरामा आफ्नो सरकार ढालेको आरोप लगाए । ‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कसैका असल बाबु होलान्, ससुरा होलान्, सम्धी होलान् तर पार्टीका अगाडि बेइमान, धोकेबाज र छट्टु नेता हुन्’ ओलीको टिप्पणी छ ।

स्थानीय चुनाव आउँदैछ, समयमा नै चुनाव भयो भने एमालेबाट चोइटिएर ‘धेरै खान’ गएका माधवकुमार नेपालहरुले देशभरमा एउटा वडा सदस्य मात्रै पनि जित्न हम्मे पर्ने एमाले अध्यक्ष ओलीको भविष्यवाणी छ ।

एमालेलाई सुदृढ गतिशील एवम् विचारमा आधारित पार्टीका रुपमा विकसित गरिँदै आएकोले पद नपाए पार्टी छोड्छु भन्नेहरु अब यही पार्टीमा रहिरहन नसक्ने उनले बताए । ‘सबै पार्टी सदस्यहरुको योग्यता र क्षमताका आधारमा क्रमशः पालो आउँछ, पदका लागि मरिमेट्ने काम नगर्नु’ हजारौं कार्यकर्ताले भरिभराउ सभाहलमा अध्यक्ष ओलीको निर्देशन थियो ।

पार्टीका झापा जिल्ला अध्यक्ष चिन्तन पाठकको अध्यक्षतामा सचिव मदन अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सहभागीहरुलाई उपसचिव चन्द्रा श्रेष्ठले शाब्दिक स्वागत गरेकी थिइन् ।

सो कार्यक्रममा एमाले नेताहरु अग्निप्रसाद खरेल, देबेन्द्र दाहाल, देवराज कार्की, रविन कोइराला, हिक्मत कार्की लगायतले समसामयिक राजनीतिक विषयवस्तुमा आ–आफ्ना धारणा राखेका थिए ।

          September 14, 2021 7:40 pm | मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: