२०८१ वैशाख १९, बुधवार , ०९:४४:४७ बजे

Sajhamanch
'

जनता आवास कार्यक्रम अन्तर्गत बनाइएका घरहरुको अनुगमन

सोमवार, माघ २३, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा जनता आवास कार्यक्रम अन्तर्गत बनेका घरहरुको आज अनुगमन भएको छ । नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, लेखा प्रमुख तेजेन्द्र तामाङ, उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेल लगायतको टोलीले घरहरुको अनुगमन गरेको हो ।

सो वडामा जनता आवास कार्यक्रम अन्तर्गत ६ वटा घर निर्माणका लागि गत आर्थिक वर्षमा छुट्याएको बजेटबाट बनेका घरहरुको अनुगमन गरिएको नगर उपप्रमुख संग्रौलाले बताए । निर्वाचन लगायत विविध कारणले घर निर्माणमा ढिलाई भएको उनको भनाई छ ।

प्रतिघर २ लाख २० हजारका दरले जम्मा १३ लाख २० हजार रुपैयाँमा ६ वटा घर निर्माणका लागि बजेट छुट्याइएको थियो । तर निर्माणका क्रममा नगरले दिएको बजेटको अतिरिक्त रकम घरधनी आफैंले थप गरेरसमेत घर निर्माण गरिएकोले फरक फरक ढंगका घरहरु निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिए ।

वडाका बासिन्दा कर्णबहादुर शेर्मा, प्रेमाकुमारी सार्की, सोवी सार्की, उमा दाहाल, मन्जु सोरेन र धनमाया निरौलाको घर निर्माण गरिएको हो ।

नगर उपप्रमुख संग्रौलाले बिर्तामोड नगरपालिका भित्र विगत ५ वर्षयता जनता आवास कार्यक्रम अन्तर्गत ६०० वटाभन्दा बढी घरहरु निर्माण भएको जानकारी दिएका छन् । चालू आर्थिक वर्षमा समेत सहारा नेपाल र ह्यावीट्याट नेपालसँगको सहकार्यमा घरहरु निर्माण हुने उनले बताए ।

उपप्रमुख संग्रौलाले बिर्तामोड नगरपालिका जनताको आवास सुनिश्चित गर्नेतर्फ रहेको र आगामी दिनमा समेत यसैगरी घर निर्माण गर्दै जाने बताए ।

सम्बन्धित खबर