२०८१ जेठ ४, शुक्रवार , ०८:३३:५० बजे

Sajhamanch
'

इलाममा विस्तारित एनएमसी चिया उद्योगले किसानको मन लोभ्याउँदै

मङ्गलवार, वैशाख १८, २०८१

फिक्कल । हरियोपत्ती बेच्ने बेला सधैं निराश हुने इलामका चिया कृषक प्रेम कागते (वर्ष ६१) यसपालि भने खुशी भेटिएका छन् ।

सिजनैपिच्छे अब त भाउ पाइएला कि भन्ने आश गर्दै तर उचित भाउ नपाउँदा मन खिन्न पार्दै चियापत्ती बेचिरहेका उनी अहिले भने थोरै भए पनि मूल्य बढ्दा हर्षित बनेका हुन् ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले सञ्चालन गरेको सिद्धपोखरी चिया उद्योगमा हरियोपत्ती लिएर बेच्न आएका कागतेले भने, ‘केही त बढेछ, अब चाहिं भाउ उक्लिँदै जान्छ कि !’

जिल्लाको माइजोगमाई गाउँपालिका–१ स्थित सो उद्योगमा हरियोपत्ती जोख्दै गर्दा भेटिएका उनले यो सिजनमा बढेको मूल्यले काम गर्न जाँगर पनि बढाएको प्रतिक्रिया दिए ।

“भाउ अब ओरालो नलाग्ला, बढ्न शुरु भएछ” सोही पालिका–५, सोयाङका उनी थप्छन्, “चिया खेती थालेको ४ वर्षजति भो, ‘ए’ ग्रेडको पत्तीको मूल्य ६० रुपैयाँभन्दा बढेको थिएन, अहिले ६२ पुगेछ ।”

२ रोपनी जमिनमा झण्डै ५०० चियाको बोट लगाएका कागते अरुतिर भाउ चित्तबुझ्दो नभएकाले प्रायः किसानले हरियोपत्ती बेच्न यही उद्योग रोज्ने गरेका बताउँछन् ।

एनएमसीमा गाभिनुअघिको तत्कालीन सिद्धपोखरी चिया सहकारी संस्थालाई सधैं हरियोपत्ती बेच्दै आएका उनले गाभिएपछि खुलेको उद्योगमा भने पहिलो पटक आएको सुनाए ।

‘सिद्धपोखरी सहकारी हुँदा पहिल्यैदेखि यहीँ ल्याउँथे, एनएमसी चिया उद्योगमा पहिलोचोटी ल्याएको हुँ, १ नं. पत्ती नै ल्याएको हुँला’, कुराकानीका क्रममा कागतेले भने ।

उनी त प्रतिनिधि पात्र मात्र हुन् । एनएमसीले इलाममा सञ्चालन गरेको दुईवटा चिया उद्योगले पछिल्लो समय जिल्लाका अधिकाँश चिया किसानको मन जित्दै आएको छ ।

झापाको काँकरभिट्टामा प्रधान कार्यालय रहेको सो संस्थाले व्यवसाय विस्तारका क्रममा पाँचौँ व्यवसायका रुपमा उक्त पालिकामा शुरु गरेको चिया उद्योग कृषकको रोजाइमा पर्न थालेको हो ।

तत्कालीन सिद्धपोखरी चिया सहकारी र एनएमसी २०७८ सालमा एकीकरण भएपछि सञ्चालन गरिएको सो उद्योगमा २४० चिया किसान सूचिकृत रहेका उद्योग इञ्चार्ज भीम राउतले बताए ।

एकीकरणका क्रममा सिद्धपोखरीबाट आएको ८ रोपनी जग्गामा सञ्चालित उद्योगमा २ महिलासहित १८ जना कर्मचारी रहेको बताइएको छ ।
“चियाको हरियो पत्ती टिप्ने सिजन चैत १९ देखि वैशाख १५ सम्म हो, गुणस्तरका आधारमा मूल्य निर्धारण गरिएको छ” उनले भने, “उद्योगसम्म ल्याउँदा प्रतिकेजी ‘ए’ ग्रेडको चियापत्तीलाई ६२, ‘बी’ प्लसको ५२ र ‘बी’को ४२ रुपैयाँ दिने गरेका छौँ ।”

उद्योगले वरपरका कृषकहरुलाई पायक पर्नेगरी लप्सिबोटेमा स्थापना गरेको चिया संकलन केन्द्रमा दैनिक १ हजार केजीको हाराहारीमा हरियो पत्ती आउने गरेको उद्योग इञ्चार्ज राउतको भनाई छ ।

हालसम्म चियाको ३ लाख ५० हजार केजी हरियोपत्ती खरिद गरेको सो उद्योगले २०७९–०८०मा सालमा ४८ हजार केजी तयारी चिया उत्पादन गरेको तथ्याङ्क छ ।

“तत्कालीन सिद्धपोखरी चिया सहकारी अभ्यासमै थियो, अगाडि बढ्न चुनौती थिए” सिद्धपोखरी चिया व्यावसायिक इकाई समिति संयोजक शालिकराम पौडेलले भने, “गाभ्ने कुरो उठेपछि सबैतिर बुझेर एनएमसीसँग मिलेका हौँ ।”

‘ए’ ग्रेडको चियाको मूल्य १० वर्षअघिकै भइरहँदा एनएमसी उद्योगले उक्त श्रेणीलाई प्रतिकेजी ६२ रुपैयाँ निर्धारण गरी लागू गरेको उनले बताए ।

“बढेको भाउ पाउँदा कृषक हर्षित त छँदैछन्, चियालाई पूर्णतया अर्गानिक बनाउने विधिबारे पनि सोच्दैछौँ” पौडेल भन्छन्, “यति गरेपछि उपभोक्तामा सन्तुष्टि र विश्वसनियता अझै थपिन्छ ।”

चियालाई १–२ पुस्ताको खेतीका रुपमा अथ्र्याएका उनको खेती पुस्तान्तरण गरेर कृषक सुध्रिँदै र खेती सुधार्दै अघि बढ्नुपर्ने सुझाव छ ।

“यो खेती ठीक छ, अब बजारीकरणमा ध्यान दिनुपर्छ” श्रमको उचित मूल्य नपाउँदा निराश बनेका किसानमा हौसला थप्दै पौडेल भन्छन्, “गुणस्तरीय चिया ल्याउनुस्, मेहनतको मूल्यमा हामी सचेत छौँ ।”

दैनिक ५ हजार केजी चिया उत्पादन क्षमताको एनएमसीकै अर्को चिया उद्योग साँघुबेसीमा झण्डै ५०० चिया कृषक प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा जोडिएका छन् ।

साघुँबेँसी चिया व्यावसायिक इकाई उपसमिति सदस्य पदमबहादुर भण्डारी परिस्थिति फेरिएको बताउँदै भन्छन्, ‘उद्योगले चियाको पैसा महिनैपिच्छे खातामै पठाउँछ, पहिले अलपत्र जस्तै थियौँ, अहिले सहज छ ।’

चियाको व्यवस्थित उद्योग नहुँदा बेच्न पहिल्यैदेखि नै भारत लैजानुपरेको सुनाउँदै उनले भने, ‘अब दूध बेच्न समस्या छ, यतै दूधको पनि व्यवस्थित बजार भए हुन्थ्यो ।’

कृषि, दुग्धजन्य लगायत सबै उत्पादन बेच्न सधैं भारतकै भर पर्नुपर्ने अवस्थाको अन्त्य गरी भारत बाहेक आफ्नै ठाउँमा वैकल्पिक बजार खोज्नुपर्ने भण्डारीको भनाई छ ।

चियामा लागेको रोग नियन्त्रण गर्ने व्यवस्थित उपायको अपेक्षा गर्दै उनी चिया पिउने पदार्थ भएकाले सबै सचेत हुँदै विषादीमुक्त बनाउनु पर्नेमा जोड दिन्छन् ।

उक्त उद्योगका इञ्चार्ज रविन आचार्य भन्छन्, ‘उद्योगमा आएजति सबै चिया खरिद गरेका छौँ, फर्काउने भन्ने कुरै हुँदैन तर गुणस्तरमा सम्झौता गर्दैनौँ ।’

त्यसैगरी, एनएमसी इलाम क्षेत्रीय कार्यालयका संयोजक अरुणकुमार श्रेष्ठले भौगोलिक विकटताका बीच संस्थाको सेवा प्रवाह सन्तोषजनक रहेको बताए ।

“कार्यसम्पादन प्रक्रियामा चुस्तदुरुस्त र प्रभावकारिता कायमै छ, कमी हुन दिएका छैनौँ” २०८० साउन १६ देखि सो जिम्मेवारी सम्हालेका उनी भन्छन्, “चियापत्तीको रकम नियमित भुक्तानीले चिया कृषकमा उत्साह थपिएको छ ।”

चिया उद्योगमा सूचीकृत हुने इलामेली किसानको संख्या बढ्दोक्रममा रहेको जानकारी गराउँदै श्रेष्ठले गुणस्तर मापनमा गरिएको ग्रेड निर्धारणमा कृषकको आंशिक गुनासो रहेको बताए ।

सो उद्योगमा चिया विशेषज्ञ (प्राविधिक कन्सल्टेन्ट)का रुपमा कार्यरत कमल भारतीका अनुसार एनएमसी उद्योगबाट उत्पादित चियामा हालसम्म विषादीको मात्रा फेला परेको छैन ।

“इलामेली कृषकसँग हाम्रो उद्योगले खरिद गरेको चियामा विषादीको अवशेष भेटिएको छैन” ५४ वर्षयता चियाको गुणस्तर परीक्षण गर्दै आएका ७५ वर्षीय भारतीले थपे, “कृषकले थोरै खेतमा चिया लगाउनु, विषादी खरिद गर्न नसक्नु र लगाउन नपाउनु जस्ता कारणले त्यसो भएको हुनसक्छ ।”

२० वर्षको उमेरदेखि चियाक्षेत्रमा काम गरिरहँदा जिब्रोमा स्वाद लिएर वा ल्यावमा परीक्षण गरेर चियाको गुणस्तर जाँच गर्दै आएका उनका अनुसार इलामको सिद्धपोखरी उद्योगको चिया अझ गुणस्तरीय पाइएको छ ।

एनएमसी चिया उद्योग व्यवसाय प्रमुख रविन्द्र पाण्डे चियामा सम्भावना देखेर नै एनएमसीले २०७८ असारमा थालेको चिया व्यवसायमा अहिलेसम्म करिब १३ करोड रुपैयाँ लगानी भइसकेको बताउँछन् ।

चियाको माग बढ्दो क्रममा रहे पनि नेपालीको विदेशिने क्रम नघट्दा खपत केही घटेको सुनाउँदै उनी भन्छन्, ‘तर, पनि उत्पादन घटेको छैन, उपभोग चाहिं घट्दैछ ।’

उत्पादन भएमध्ये झण्डै ९० प्रतिशत चिया विदेश निर्यात गर्नुको विकल्प नरहेको सुनाउँदै पाण्डेले स्वदेशी बजारमा करीब १० प्रतिशत मात्र चिया खपत हुँदै आएको दाबी गर्छन् ।

उद्योगले सुरुवातमा अर्थोडक्सको ग्रिन–टी उत्पादनमा प्राथमिकता दिएर पछिल्लो चरणमा ब्ल्याक–टी पनि उत्पादन गर्दै आएको बताउँदै उनी थप्छन्, ‘चियाको खपत जाडोमा धेरै र गर्मीमा थोरै हुनेगर्छ ।’

पाण्डेका अनुसार आ.व. २०७९–०८० मा ७ लाख केजी चियापत्तीबाट १ लाख ५५ हजार केजी अर्थोडक्स ब्ल्याक–टी उत्पादन भएको थियो । उत्पादित अर्थोडक्स ब्ल्याक–टीमध्ये १ लाख ४० हजार केजी बिक्री भएको जानकारी गराउँदै उनले गतवर्ष साढे ५ करोड रुपैयाँको कारोबार भएको पनि बताए ।

“चिया प्रतिफल आउने व्यवसाय भए पनि अहिलेको स्थितिमा लक्ष्य अनुसार प्रतिफल आउने सम्भावना कम छ” पाण्डे भन्छन्, “सरकारी तवरबाट चियामा ध्यान पुगेको छैन, बजारीकरणमा जोड दिन जरुरी छ ।”

“पछिल्लो पटक ७ हजार २०० केजी ग्रिन–टी र ब्ल्याक–टी भारत निर्यात गरिएको छ” पाण्डे भन्छन्, “सीमित जनशक्तिबाट काम भइरहेको छ, वर्षको ९ महिना उत्पादनमा झण्डै ३५ जना जनशक्ति खटिन्छन्, अफ सिजनमा १० जना कर्मचारी हुन्छन् ।”

चिया प्रतिफल आउने व्यवसाय भए पनि अहिलेको स्थितिमा लक्ष्य अनुसार प्रतिफल आउने सम्भावना कम छ । नेपाल सरकारबाट चियाको प्रवद्र्धनमा ध्यान दिइएको छैन र बजारीकरणमा पनि वास्ता गरिएको पाइन्न ।

चिया उत्पादन गरी भारत निर्यात गर्ने क्रममा ढुवानी गरिएको ट्रक भारतीय खाद्य गुणस्तर विभागले १ साता अघिसम्म भन्सारमा रोक्दासमेत राज्यले चासो नदिएको अवस्थालाई ध्यान दिँदा उद्योगी र व्यवसायीहरुले चिया अक्सनमा ध्यान दिन आवश्यक देखिन्छ ।

सम्बन्धित खबर