२०८३ वैशाख ४ शुक्रवार , १२:०४:२६ बजे

Sajhamanch
'

बिस्केट जात्राको इतिहासमै पहिलो पटक महिलाले ताने नकिजु अजिमाको रथ

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौं । बिस्केट जात्राको सातौँ दिन हिजो भक्तपुरमा इतिहासमै पहिलो पटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुई तले रथ तानेका छन् ।

आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँच तले मन्दिरबाट नकिजु अजिमा (भद्रकाली)को रथ तानेर इतिहास कायम गरेका हुन् ।

यसअघि हरेक वर्ष पुरुषहरूले तान्दै आएको नकिजु अजिमाको रथ यस वर्ष भने जात्रा व्यवस्थापन समितिले नै आह्वान गरी पहिलो पटक महिलाहरूले मात्रै रथ तानेका हुन् ।

वैशाख १ गते ल्यासिंखेलमा लिङ्गो ढालेपछि त्यहीबाट भैरव र भद्रकालीको रथलाई तानेर ल्याई गःहिटीमा जुधाउने प्रचलन रहेको छ । नकिजु अजिमाको रथ तान्नलाई हजारौँ महिलाको भीड थियो ।

जात्राका आठौँ दिन आज सुगन जात्रा मनाउने प्रचलन छ । जात्राको नवौँ दिन अर्थात् अन्तिम दिन भोलि भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने प्रचलन छ ।

शुक्रवार, वैशाख ४, २०८३ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर