
झापा । हङ्गेरीमा १६ वर्षदेखि सत्तामा रहँदै आउनुभएका प्रधानमन्त्री भिक्टर ओर्बन अन्ततः पराजित हुनुभएको छ ।
मतदाताहरूले अधिनायकवादी प्रवृत्ति र अति–दक्षिणपन्थी राजनीतिप्रति असन्तुष्टि जनाउँदै युरोप समर्थक नयाँ नेतृत्व रोजेपछि देशको राजनीतिक दिशा नै फेरिने सङ्केत देखिएको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ ।
ओर्बनका पूर्वसहयोगीसमेत रहेका ४५ वर्षीय पिटर मग्यारले भ्रष्टाचारविरुद्ध, सार्वजनिक सेवा सुधार र युरोपेली सङ्घ (ईयू) तथा उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सँग सम्बन्ध पुनर्स्थापनाको एजेन्डा अघि सार्दै ऐतिहासिक जीत हासिल गर्नुभएको हो ।
प्रारम्भिक मतगणनामा उहाँको टिस्जा पार्टीले झन्डै ५३ प्रतिशत मत ल्याउँदा ओर्बनको फिडेज पार्टी ३७ प्रतिशतमा सीमित देखिएको छ । १०६ मध्ये ९४ निर्वाचन क्षेत्रमा अग्रता लिँदै मग्यार स्पष्ट विजेता बन्नुभएको छ ।
पराजय स्वीकार गर्दै ओर्बनले परिणामलाई ‘पीडादायी’ भन्नुभयो र अब विपक्षबाट राष्ट्रको सेवा गर्ने बताउनुभयो । उहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकट सहयोगीका रूपमा चिनिनुहुन्थ्यो जसका कारण हङ्गेरीको विदेश नीति पनि लामो समयदेखि विवादमा थियो ।
मग्यारको विजयले ईयूभित्रको शक्ति सन्तुलनमा परिवर्तन ल्याउने अपेक्षा छ । ओर्बनमाथि विगतमा बारम्बार भिटो प्रयोग गरेर ईयूका निर्णयहरू अवरुद्ध गर्दै आएको र रुससँग नजिकिँदै गएको आरोप लाग्दै आएको थियो । विशेषगरी युक्रेन युद्धका विषयमा उहाँको भूमिकाले युरोपेली नेताहरूलाई असहज बनाएको थियो ।
चुनावी परिणामपछि राजधानी बुडापेस्टमा उत्साहपूर्ण वातावरण देखिएको छ । डेन्युब नदी किनारमा हजारौँ समर्थकहरू भेला भई विजय उत्सव मनाइरहेका छन् ।
झन्डै ८० प्रतिशत मतदान भएको यस चुनावलाई हङ्गेरीको कम्युनिस्टपछिको इतिहासकै उच्च सहभागितामध्ये एक मानिएको छ । यसले नागरिकको परिवर्तनप्रतिको आकाङ्क्षा स्पष्ट देखाएको विश्लेषकहरूको भनाइ छ ।
ओर्बनको शासनकालमा मिडिया स्वतन्त्रता, अल्पसङ्ख्यक अधिकार र संस्थागत संरचनामाथि दबाव बढेको आरोप लाग्दै आएको थियो । साथै सत्ता नजिकका व्यावसायिक समूहहरूलाई लाभ पुर्याएको भन्ने आरोप पनि उहाँले अस्वीकार गर्दै आउनुभएको थियो ।
अब मग्यारको नेतृत्वमा हङ्गेरी पुनः युरोपतर्फ फर्किने वा पुरानै विभाजित राजनीतिक धार कायम रहने भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ । उहाँले यसअघि नै यो चुनाव ‘पूर्व वा पश्चिमबीचको छनोट’ भएको बताउनुभएको थियो ।


