२०८२ चैत ३० सोमवार , ०४:४८:३५ बजे

Sajhamanch
'

अधिकांश मन्त्रीहरूको सेयर बजारमा लगानी (सूचीसहित)

सोमवार, चैत ३०, २०८२

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्रीसहित मन्त्रीहरूको आइतबार सार्वजनिक गरेको सम्पत्ति विवरण यतिखेर चर्चाको विषय बनेको छ। सुनचाँदीदेखि सामाजिक सञ्जालसम्म सम्पत्ति विवरणमा समेटिएको छ।

अधिकांश मन्त्रीहरूको उल्लेख्य लगानी नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न कम्पनीहरूमा देखिएको छ। अर्थमन्त्रीदेखि कृषि मन्त्रीसम्मको पोर्टफोलियोमा जलविद्युत, बैंक तथा वित्तीय संस्था र लघुवित्तका सेयरहरू प्राथमिकतामा परेका छन्।

सार्वजनिक विवरणअनुसार कतिपय मन्त्रीहरूको सेयर लगानी करोडौँ भन्दा माथि देखिएको छ भने केही मन्त्रीहरू सेयर बजारबाट टाढा रहेको देखिएकाे छ।

सेयर बजारमा करोडौँ लगानी गर्ने मन्त्रीहरूमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव देखिएकी छन् ।

उनको सार्वजनिक विवरण अनुसार सेयर बजारमा सबैभन्दा धेरै लगानी देखिएको छ । उनको विभिन्न कम्पनीहरूमा गरी कुल ३ करोड ३८ लाख ३५ हजार ९०८ रुपैयाँ बराबरको सेयर लगानी रहेको छ ।

त्यस्तै गृहमन्त्री सुधन गुरुङ दोस्रो ठुलो लगानीकर्ताका रूपमा देखिएका छन् । उनको २ करोड ७४ लाख ५६ हजार २०० रुपैयाँ बराबरको सेयर छ । उनले यो लगानीको स्रोत पैतृक सम्पत्ति, व्यवसाय र लगानीबाट आर्जित भएको उल्लेख गरेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठको विभिन्न कम्पनीहरूमा कुल २० हजार ९७८ कित्ता सेयर रहेको छ । यसको वर्तमान बजार मूल्य १ करोड ४५ लाख ४८ हजार ४२० रुपैयाँ बराबर देखिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको विभिन्न ५ वटा कम्पनीमा करोडौँको लगानी छ । उनको सानिमा मिडल तमोरमा ७१ हजार ०९३ कित्ता, सांग्रिला विकास बैंक (प्रमोटर) मा २५ हजार ७६२ कित्ता, नेशनल फण्ड म्यानेजमेन्टमा ९० लाख रुपैयाँ, ठुलो खोला जलविद्युतमा ६० लाख र अपर मादी जलविद्युतमा ३ करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको आफ्नै नाममा पिक एण्ड ड्रप ३३ प्रतिशत, रिग्पा इन्टरनेशनल (१०० प्रतिशत) र ताजा एग्रो (१६ प्रतिशत) मा सेयर छ । साथै, बिपीडब्लु लघुवित्त, ग्लोबल आइएमई र नबिल बैंक लगायतमा पनि उनको लगानी छ ।

उनकी श्रीमती अच्युता अधिकारीको नाममा चन्द्रागिरी हिल्स, मुक्तिनाथ विकास बैंक, नेपाल बैंक, नबिल सिपसहित १५ वटा कम्पनीको सेयर रहेको छ।

पर्यटन मन्त्री खडकराज पौडेलको पनि भगवती हाइड्रोपावरमा ६५२ कित्ता र एसएसआईएसमा १० हजार कित्ता सेयर रहेको पाइएको छ ।

कृषि मन्त्री गीता चौधरीको विभिन्न कम्पनीमा २ लाख ५० हजार रुपैयाँ बराबरको सेयर रहेको छ । सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको विभिन्न कम्पनीमा १ लाख रुपैयाँ बराबरको सेयर रहेको छ ।

स्वास्थ्य मन्त्री निशा मेहेताको पनि विभिन्न कम्पनीमा २०० कित्ताभन्दा बढी सेयर रहेको छ ।

सम्पत्ति विवरणअनुसार मन्त्रीहरूको अधिकांश लगानी जलविद्युत र बैंकिङ क्षेत्रमा केन्द्रित देखिएको छ।

प्रधानमन्त्रीसहित यी ६ मन्त्रीहरूकाे छैन लगानी

सार्वजनिक सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री बालेन शाहको सेयर बजारमा कुनै पनि लगानी छैन । उनीसँगै मन्त्रिमण्डलका अन्य ७ जना सदस्यहरूको पनि सेयर बजारमा लगानी शून्य देखिएको छ ।

जसमा कानुन मन्त्री सोविता गौतम, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी, शिक्षा मन्त्री सस्मित पोखरेल, सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना, श्रम मन्त्री रामजी यादव, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्।

सम्बन्धित खबर