
काठमाडौं । अमेरिका र इरानबीचको तनावले अब नयाँ र खतरनाक मोड लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनाले अब होर्मुज जलमार्गबाट गुज्रिने जहाजहरूको नाकाबन्दी गर्ने घोषणा गरेका हुन् ।इस्लामाबादमा भएको इरान–अमेरिका शान्ति वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले होर्मुज जलमार्गमा तत्कालै लागु हुने गरी नाकाबन्दीको घोषणा गरेका हुन् ।राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै यो मार्गबाट जान खोज्ने हरेक जहाजलाई अमेरिकी सेनाले रोक्ने र विस्तृत जाँच गर्ने बताए ।
वार्ता राम्रो भयो, धेरैजसो बुँदाहरूमा सहमति पनि जुट्यो, तर सबैभन्दा महत्त्वपूर्ण बुँदा आणविक विषयमा भने सहमति हुन सकेन । त्यसैले, अहिलेदेखि नै लागु हुने गरी विश्वकै उत्कृष्ट ‘अमेरिकी नौसेना’ले होर्मुज जलमार्गमा प्रवेश गर्ने वा बाहिरिने कुनै पनि र सबै जहाजहरूलाई नाकाबन्दी गर्ने प्रक्रिया सुरु गर्नेछ, ट्रम्पले भने ।
विशेषगरी इरानलाई ‘टोल ट्याक्स’ बुझाएका जहाजहरूमाथि कडा निगरानी राखिने बताएका छन् । ट्रम्पका अनुसार, इरानलाई गैरकानुनी रूपमा टोल बुझाउने जहाजहरूलाई सुरक्षित मार्ग दिइने छैन । यसको मुख्य उद्देश्य इरानको आर्थिक मेरुदण्ड कमजोर बनाउनु रहेको छ ।
अमेरिका कुनै पनि परिस्थितिका लागि तयार रहेको र आवश्यक परेमा युद्ध अन्त्य गर्न निर्णायक कारबाही गर्ने उहाँले चेतावनी दिए ।यसअघि इरानी संसद्का उपसभामुख हाजी बाबाईले होर्मुज जलमार्ग पूर्ण रूपमा इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । इरानले यस जलमार्गलाई आफ्नो ‘रेड लाइन’ (अन्तिम सीमा) मानेको छ । इरानले यहाँबाट गुज्रिने जहाजहरूले इरानी मुद्रा रियालमा नै महसुल बुझाउनुपर्ने सर्त राखेको छ ।एजेन्सी


