
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अमेरिका र इरानबीचको शान्ति वार्ता निष्कर्षविहीन बनेपछि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक तनाव थप बढ्ने संकेत देखिएको छ ।
झण्डै २१ घण्टा लामो छलफलपछि कुनै ठोस सहमति हुन नसकेपछि उपराष्ट्रपति जेडी भान्ससहितको अमेरिकी वार्ता टोली स्वदेश फर्किएको छ । यो वार्ता गएको झण्डै ४ दशकपछि दुई देशबीच भएको प्रत्यक्ष उच्चस्तरीय संवादका रूपमा हेरिएको थियो ।
तर प्रमुख मुद्दाहरूमा गहिरो मतभेदका कारण वार्ता अन्ततः निष्कर्षविहीन बन्यो । वार्तामा अमेरिकी पक्षले इरानलाई आफ्नो आणविक कार्यक्रम पूर्णरूपमा रोक्न दबाब दिएको थियो भने इरानले हर्मुज जलमार्गमाथिको नियन्त्रण, अन्तर्राष्ट्रिय प्रतिबन्ध हटाउने, युद्ध क्षतिपूर्ति उपलब्ध गराउने तथा आफ्नो मिसाइल कार्यक्रमबाट पछि नहट्ने अडान राखेको थियो ।
यी मूलभूत मुद्दामा सहमति जुट्न नसक्दा वार्ता भंग भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । वार्ता असफल भएसँगै यसअघि घोषणा गरिएको दुई हप्ते अस्थायी युद्धविराम पनि संकटमा परेको छ । विश्लेषकहरूका अनुसार अब पुनः सैन्य आक्रमण बढ्न सक्ने जोखिम उच्च देखिएको छ ।
विशेषगरी महत्त्वपूर्ण हर्मुज जलमार्ग प्रभावित हुँदा विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चिन्ता बढेको छ । यसैबीच अमेरिकाले जलमार्ग खुला राख्न आवश्यक परे सैन्य तयारी गर्न सक्ने संकेत दिएको छ भने इरानले आफ्नो सार्वभौमिक अधिकार र सुरक्षा चासोलाई प्रमुख प्राथमिकतामा राख्ने जनाएको छ ।
दुवै पक्षबीच आरोप–प्रत्यारोप पनि तीव्र बनेको छ । अमेरिकाले इरानलाई सम्झौतामा तयार नभएको आरोप लगाएको छ । इरानले भने अमेरिकाबाट अत्यधिक र एकपक्षीय माग आएको प्रतिक्रिया दिएको छ । यद्यपि, पूर्ण रूपमा कूटनीतिक प्रक्रिया बन्द भइनसकेको खबरहरूमा उल्लेख छ ।
केही अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूका अनुसार प्राविधिक तथा कार्यस्तरमा संवाद कायमै रहने सम्भावना रहेको छ र आवश्यक दस्तावेज आदान(प्रदान पनि हुन सक्ने संकेत देखिएको छ । अबको अवस्था कूटनीतिक पहल र शक्ति सन्तुलनको रणनीतिमा निर्भर रहने विश्लेषकहरुको भनाइ छ ।


