२०८२ चैत २५ बुधवार , ०२:२९:५९ बजे

Sajhamanch
'

कानुन व्यवसायी सिंहदरबार छिर्दा नागरिक एपबाट पास लिनुपर्ने

बुधवार, चैत २५, २०८२

काठमाडौं । कानुन व्यवसायीहरुले अघिल्ला दिनहरु जस्तो आफ्नो परिचय पत्रको आधारमा सिंहदरबार प्रवेश गर्न नपाउने भएका छन् ।

उनीहरुले पनि अब अरु सर्वसाधारणहरुले जस्तै नागरिक एपबाट पास लिनुपर्ने नियम लागु गरिएको छ । यो नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीहरुको असन्तुष्टि छ ।

सिंहदरबार परिसरभित्र रहेको प्रशासकीय अदालतका रजिष्ट्रार सरोजराज रेग्मीले सूचना जारी गरी कानुन व्यवसायीहरुले नागरिक एपको सिंहदरबार गेट पासका आधारमा मात्र प्रवेश पाउने जानकारी दिनु भएको छ ।

उहाँका अनुसार प्रशासकीय अदालतका पदाधिकारी र कर्मचारीहरुले सम्बन्धित निकायको आधिकारिक परिचयपत्रको आधारमा, कानुन व्यवसायीले नागरिक एपको सिंहदरबार गेटपासको आधारमा, मुद्दाका पक्ष वा वारेसले सम्बन्धित पक्षरवारेसको तारेख पर्चाका आधारमा र अन्य सबैले प्रशासकीय अदालतको दैनिक इ–पासको आधारमा प्रवेश पाउने छन् ।

यसअघि कानुन व्यवसायीहरुले नेपाल बार काउन्सिलले दिने परिचय पत्रको आधारमा सिंहदरबारसहित नेपालका सबैजसो अड्डा अदालतमा प्रवेश गर्न पाउँथे । तर उनीहरुलाई सिंहदरबार प्रवेशको हकमा अहिले कडाइ गरिएको छ ।

नयाँ नियमप्रति कतिपय कानुन व्यवसायीले असन्तुष्टि जनाएका छन् । अधिवक्ता विनोदमणि भट्टराईले प्रशासनिक अदालत सिंहदरबारभित्रै रहेको र तर त्यहाँ पुग्न पनि पास लिनुपर्ने व्यवस्था व्यवहारिक नभएको बताउनु भयो । उहाँले नयाँ नियममा पुनरविचार गर्न आग्रह गर्नुभयो ।

‘कानुन व्यवसायीबाट पनि कतिपय साथीहरु नीति निर्माण गर्ने थलो प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । उहाँहरुले यो अप्ठ्यारो फुकाउन पहल गर्नुहुन्छ भन्ने विश्वास छ,’ भट्टराईले भन्नुभयो ।

सम्बन्धित खबर