२०८२ चैत २४ मङ्गलवार , ०५:३६:४० बजे

Sajhamanch
'

सघन सहरी कार्यालय धनकुटाका तीन कर्मचारी घुस रकमसहित पक्राउ

मङ्गलवार, चैत २४, २०८२

धनकुटा । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामा कार्यरत इन्जिनियरसहित तीन जना कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले इन्जिनियर सुमन राई, लेखा अधिकृत इन्द्रबहादुर कार्की र सब इन्जिनियर रविन श्रेष्ठलाई ८५ हजार रुपैयाँ घुस रकमसहित सोमबार पक्राउ गरिएको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५को एक विद्यालय भवन निर्माणको अन्तिम बिल भुक्तानी प्रक्रिया अगाडि बढाउँदा उनीहरूले सेवाग्राहीसँग विभिन्न बहानामा घुस रकम मागेर हैरान बनाएको सूचना अख्तियारसम्म पुगेको थियो ।

सोही सूचनाका आधारमा अख्तियारको टोलीले सेवाग्राहीबाट ८५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा राईलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले ललितपुरबाट पक्राउ गरेको जनाएको छ ।

यसैगरी इटहरीस्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले कार्की र श्रेष्ठलाई क्रमशस् धनकुटा र भोजपुरबाट नियन्त्रणमा लिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरूबाट घुस रकम, तीन थान मोबाइल र अन्य सम्बन्धित कागजात बरामद गरिएको अधिकारीले बताउनु भयो । घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

सम्बन्धित खबर