
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारलाई अनावश्यक आतंकित पार्ने काम भएको स्पष्ट पार्नु भएको छ ।
आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा वाग्लेले बजारमा अनावश्यक त्रास फैलाउने काम भइरहेको भन्दै नआत्तिन आग्रह गर्नुभयो ।
सरकारले लगानीकर्तामाथि कुनै कारबाही गर्ने उद्देश्य नराखेको स्पष्ट पार्दै उहाँले अनैतिक कार्य गर्नेलाई मात्रै कानुनबमोजिम नै कारबाही हुने बताउनु भयो ।
‘सेयर बजार नेपालका अन्य क्षेत्रभन्दा बढी व्यवस्थित र पारदर्शी छ’ उहाँले भन्नुभयो ‘पेपरलेस प्रणाली, बैंकमार्फत कारोबार, लाभांश सिधै खातामा, कर प्रणाली स्पष्ट, कसले किन्यो/बेच्यो भन्ने ट्र्याक गर्न सकिने भएकाले यो प्रणाली विश्वसनीय छ।’
सेयर बजारलाई सरकारले डिजिटलाइजेसनको नमूना क्षेत्रको रूपमा लिएको उहाँले बताउनु भयो । तर यदि बजारमा कसैले इन्साइडर ट्रेडिङ, म्यानिपुलेसन, अन्य अनैतिक काम गरेको छ भने विद्यमान कानुन अनुसार कारबाही हुने उहाँले स्पष्ट पार्नुभयो ।
‘अहिले लगानीकर्ता प्यानिक हुन आवश्यक छैन, आगामी दिनहरूमा सेयर बजार सुधारका लागि पनि काम हुने छन्’ उहाँले भन्नुभयो । नेप्से पुनर्संरचना प्रतिवेदन अध्ययन गरेर सुधार अघि बढाइने उहाँले स्पष्ट पार्नुभयो।
‘राष्ट्रिय स्वतन्त्र पार्टीको बाचापत्रका बुँदा ३३ र ३४ कार्यान्वयन गर्ने हो, लगानीकर्ताले अध्ययन गरे हुन्छ । सेयर बजारप्रति हामी कति उदार छौँ, त्यसबाटै स्पष्ट हुन्छ’ उहाँले भन्नुभयो ।
बजारमा पनि सुनौला दिन आउने उहाँले बताउनु भयो । अहिले सरकारको प्राथमिकता नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्नु रहेको उहाँले बताउनु भयो ।
‘ग्रे लिस्टबाट मुलुकलाई बाहिर ल्याउने सवालमा कागजमा मात्रै कुरा गर्ने तर बाहिर नगर्ने गरेको भ्रम छ, हामी अहिले लागु पनि गर्ने चरणमा प्रवेश गरेका हौँ’ उहाँले भन्नुभयो । सम्पत्ति शुद्धीकरण लगायतका वित्तीय अपराधमा वर्षौंदेखि भएका अनुसन्धान अकाट्य प्रमाणका आधारमा मात्रै अहिले अघि बढेको उहाँले बताउनु भयो ।
‘संस्था वा व्यक्ति छानेर दुखः दिने हाम्रो कुनै नियत छैन । हामी खुलाबजार अर्थनीति मान्छौँ त्यो भनेको छाडा अर्थतन्त्र होइन’ उहाँले भन्नुभयो । न्याय निरूपणको काम अदालतबाट हुने भएकाले कसैलाई लक्षित गरेर कारबाही गर्ने नभई कानुनअनुसार अघि बढाउने उहाँको भनाइ छ ।


