
झापा । आर्टिमिस २ मिसनका अन्तरिक्ष यात्रीहरू चन्द्रमातर्फ यात्रा गरिरहँदा पृथ्वीसँगको निरन्तर सम्पर्कमा रहेका छन् ।
तर उनीहरू चन्द्रमाको पछाडि पुग्नेबित्तिकै नेपाली समयानुसार भोलि बिहान साढे ४ बजेको आसपास झण्डै ४० मिनेटसम्म पृथ्वीसँगको सम्पर्कबाट पूर्ण रूपमा बाहिर रहने बीबीसीले जनाएको छ ।
यस अवधिमा चारै जना अन्तरिक्ष यात्रीहरू अन्तरिक्षको गहिरो अन्धकारमा रहनेछन् । जहाँ उनीहरूले आफ्ना व्यक्तिगत अनुभव र भावनासँग समय बिताउनेछन् ।
आर्टेमिसका पाइलट भिक्टर ग्लोभरले यस समयलाई विश्वभरका मानिसहरूले सकारात्मक सोच र प्रार्थनाका लागि उपयोग गर्न आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ । उहाँँले सम्पर्कविहीन हुँदा सबैले आफूहरुको सुरक्षित यात्राका लागि शुभकामना दिन सक्ने बताउनु भएको छ ।
यसअघि सन् १९६९ मा एपोलो ११ मुन ल्यान्डिङ मिशनका क्रममा अन्तरिक्ष यात्री माइकल कोलिन्सले पनि यस्तै अनुभव गर्नुभएको थियो । त्यो बेला नील आर्मस्ट्रङ र बज एल्ड्रिनले चन्द्रमामा अवतरण गर्नुभएको थियो । त्यो बेला अन्तरिक्ष यात्रीहरु झण्डै ४८ मिनेटसम्म सम्पर्कविहीन भएका थिए ।
अहिलेको आर्टिमिस मिसनमा पनि यो सम्पर्कविच्छेदको समय पृथ्वीमा रहेका वैज्ञानिक र इन्जिनियरहरूका लागि निकै तनावपूर्ण हुने चर्चा भइरहेको छ । सम्पर्क पुनः स्थापित भएपछि अन्तरिक्षयात्रीहरूले चन्द्रमाबाट देखिएका अद्भुत दृश्यहरू पठाउने अपेक्षा छ ।
गएको बिहीवार अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘आर्टिमिस २’ मिसनका चार जना अन्तरिक्षयात्री पृथ्वीको कक्षबाट चन्द्रमातर्फ लागेका थिए । ‘आर्टिमिस २’ ले ‘इन्जिन बर्न’ को चरण पार गरेर चन्द्रमातर्फको यात्रा शुरू गरेको हो ।
यो यान अप्रिल १० अर्थात अबको शुक्रबार प्रशान्त महासागरमा अवतरण गर्नेछ । यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन हुनुहुन्छ ।


