२०८२ चैत २० शुक्रवार , ०४:१३:०७ बजे

Sajhamanch
'

नासाको मानवसहितको यान ‘आर्टिमिस २’ चन्द्रमातर्फ लाग्यो

शुक्रवार, चैत २०, २०८२

झापा । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘आर्टिमिस २’ मिसनका चार जना अन्तरिक्षयात्री पृथ्वीको कक्षबाट चन्द्रमातर्फ लागेका छन् ।

अमेरिकाको फ्लोरिडाबाट उडेको २४ घण्टासम्म पृथ्वीको फन्को लगाएको यो यानले इन्जिन परीक्षणको महत्त्वपूर्ण चरण पार गरेर चन्द्रमातर्फ लागेको बीबीसीले जनाएको छ । ‘आर्टिमिस २’ ले ‘इन्जिन बर्न’ को चरण पार गरेर चन्द्रमातर्फको यात्रा शुरू गरेको हो ।

क्यानाडाका अन्तरिक्षयात्रीले पृथ्वीलाई पछाडि छोड्दै अनौठो दृश्य अवलोकन गरिरहेको र यो अनुभव अविस्मरणीय रहेको बताउनुभएको छ ।

यो यान अमेरिकी समयानुसार सोमवार चन्द्रमा नजिक पुग्नेछ । १० दिनको यात्रामा अन्तरिक्षयात्रीहले चन्द्रमामा पाइला नटेक्ने तर चन्द्रमाको फन्को मार्ने योजना बनाएका छन् । यो यान अप्रिल १० मा प्रशान्त महासागरमा अवतरण गर्नेछ ।

यो मिसन मानिसलाई पुनः चन्द्रमातर्फ लैजाने ऐतिहासिक योजनाको महत्त्वपूर्ण चरण हो । यो मिशनले भविष्यमा मानवलाई चन्द्रमामा अवतरण गराउने र त्यसपछि मङ्गल ग्रहसम्मको यात्राको मार्गप्रशस्त गर्ने अपेक्षा गरेको नासाले जनाएको छ ।

यसअघि सन् १९७० मा प्रसिद्ध ‘अपोलो’ मिशनमा १३ जना अन्तरिक्षयात्रीले चन्द्रमामा पाइला टेकेका थिए ।

यो अन्तरिक्ष मिसनमा तीन अमेरिकी अन्तरिक्षयात्री रिड वाइजमन, क्रिस्टिना कोच र भिक्टर ग्लोभर तथा एक क्यानडेली अन्तरिक्षयात्री जेरेमी ह्यान्सन हुनुहुन्छ ।

सम्बन्धित खबर