२०८२ चैत २० शुक्रवार , ०२:३५:२२ बजे

Sajhamanch
'

झापामा चितुवाको क्रुर हत्या : दोषी खोज्न अनुसन्धान टोली गठन, १० लाख जरिवाना र १५ वर्ष कैद हुन सक्ने

शुक्रवार, चैत २०, २०८२

झापा । झापाको बुद्धशान्तिमा ११ दिनअघि एउटा दुर्लभ निगाले चितुवालाई क्रुरतापूर्वक कुटपिट गरी मारिएको घटनामा संलग्नहरूको खोजी कार्य तीव्र पारिएको छ।

डिभिजन वन कार्यालय झापाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको आदेश बमोजिम सुरज निरौलालाई अनुसन्धान अधिकृत तोकेर विशेष टोली गठन गरेको हो। विशाल भट्टराई र सौरभ थापाले विभागमा उजुरी दिएपछि केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइले दोषीमाथि कडा कारबाही गर्न निर्देशन दिएको थियो।

गत चैत ८ गते बुद्धशान्ति–४, टिमाई शिविर नजिकैको मकैबारीमा देखिएको उक्त चितुवालाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको टोलीले नियन्त्रणमा लिने प्रयास गरिरहेकै बेला भीडले हत्या गरेको हो। विज्ञ टोलीले चितुवालाई लठ्याउन ‘डार्ट’ प्रहार गरिसकेको अवस्थामा मादक पदार्थ सेवन गरेका व्यक्तिहरू समेत सम्मिलित अराजक भीडले ढुङ्गामुढा र लाठीले कुटेर चितुवा मारेका थिए।

घटनास्थलमा प्रहरी टोली खटिएर माइकिङ गरे तापनि करिब १५ सयको संख्यामा रहेको उत्तेजित भीडलाई नियन्त्रण गर्न नसक्दा झापा प्रहरीको भूमिकामाथि समेत गम्भीर प्रश्न उठेको छ।

अनुसन्धान टोलीले हाल घटनास्थलका भिडियो र तस्बिरहरू सङ्कलन गरी संलग्न व्यक्तिहरूको पहिचान गरिरहेको छ। डिभिजन वन कार्यालय झापाका प्रमुख नथुनी गुहयारी यादवका अनुसार वन्यजन्तु अपराधमा हदम्याद नहुने भएकाले दोषी प्रमाणित भएमा १० वर्षपछि पनि कारबाही हुन सक्छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार चितुवा मार्नेलाई ५ देखि १५ वर्षसम्म कैद र १० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान छ।

त्यस दिन बिहानैदेखि चितुवा हेर्न र भिडियो खिच्न जम्मा भएको भीडले चितुवालाई जिस्क्याउँदा स्थिति तनावपूर्ण बनेको थियो। सोही क्रममा चितुवाको आक्रमणबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदार श्रेष्ठसहित स्थानीय कृष्ण गजमेर, दुर्गाबहादुर कटुवाल र विशाल कार्की घाइते भएका थिए।

चितुवा बिच्किएर आक्रमण गरेपछि भीड थप हिंस्रक बनेको र अन्ततः नियन्त्रणमा आइसकेको वन्यजन्तुको बीभत्स हत्या गरिएको प्रत्यक्षदर्शीले बताएका छन्।

सम्बन्धित खबर