२०८२ चैत २० शुक्रवार , १२:०६:०६ बजे

Sajhamanch
'

एमालेले कार्यवाहक अध्यक्ष बादललाई जथाभावी नबोल्न ‘सचेत’ गराउने

शुक्रवार, चैत २०, २०८२

काठमाडौं । नेकपा (एमाले)ले कार्यवाहक अध्यक्ष एवम् संसदीय दलका नेता रामबहादुर थापा (बादल)लाई पार्टीको मूल्य मान्यता विपरीत जथाभावी नबोल्न सचेत गराउने भएको छ । आजको सचिवालय बैठकबाट बादललाई सचेत गराइने एक नेताले जानकारी दिनुभयो ।

एमाले सचिवालय बैठक आज दिउँसो एक बजे बोलाइएको छ । एमालेका एक नेताले भन्नुभयो, ‘बादल जीले हिजो संसदमा पार्टीको मूल्य मान्यता भन्दा विपरीत बोल्नुभयो । उहाँलाई संसदीय प्रक्रियाबारे सिकाइने छ र आइन्दा त्यसो नगर्न सचेत गराइने छ ।’

बादलले १९ चैतको संसद बैठकमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा फागुन २१ को चुनावको सन्दर्भमा सम्पूर्ण परिणाम षड्यन्त्र र यी निकायहरूको मिलेमतोमा आएको खालको अभिव्यक्ति दिनु भएको थियो । साथै एमालेले लिँदै आएका शासकीय अडानहरूको विपरीत हुनेगरी नेपाली सेना, कर्मचारीदेखि विदेशी निकायहरूलाई समेत आरोपित गर्नु भएको थियो ।

उहाँको विवादित अभिव्यक्तिले एमालेमा तरंग छ । उपाध्यक्ष विष्णु पौडेलले बादलको अभिव्यक्तिबारे आजको सचिवालय बैठकमा गम्भीरतापूर्वक छलफल हुने र ‘उचित’ निर्णय हुने बताउनु भएको छ ।

बादल एमालेको समानुपातिकतर्फबाट अहिले सांसद छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि बादल कार्यवाहक अध्यक्ष र संसदीय दलको नेताको जिम्मेवारीमा छन् ।

नेता बादलको विवादित अभिव्यक्तिप्रति नेकपा (एमाले)का अर्का नेता सुरेन्द्र पाण्डेले पनि टिप्पणी गर्दै पछिल्लो राजनीतिक वातावरण सिर्जना हुनुमा एमाले पनि दोषी रहेको र एमाले नेतृत्वको तत्कालीन सरकारको अकर्मण्यता जिम्मेवार रहेको बताउनु भएको छ ।

बादलको नाम नलिई उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘हिजो संसदमा षड्यन्त्रका लामा कथाहरू सुनियो । सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो– सबै दोष अरूलाई ! हामी पनि दोषी छौं– यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ?’

सम्बन्धित खबर