
झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गरिराख्ने बताएपछि कच्चा तेलको मूल्य झन्डै ७ प्रतिशतले बढेको छ ।
ट्रम्पले युद्ध अन्त्य गर्न कुनै निश्चित समयसीमा नतोकी अमेरिकाले इरानमाथि आक्रमण गरिराख्ने बताएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र यसले आपूर्तिमा निरन्तर अवरोध आउने डर लगानीकर्तामा बढाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । तेलको मूल्य ६ दशमलव ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०८ अमेरिकी डलरसम्म पुगेको छ ।
ट्रम्पले ह्वाइट हाउसबाट देशका नाममा सम्बोधन गर्दै अबको दुई/तीन हप्ता अमेरिकाले इरानमाथि कडा आक्रमण गर्ने र लक्ष्य पूरा गर्ने चेतावनी दिनुभएको थियो । उहाँले इरानसँग चलिरहेको सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गर्नुभयो ।
यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता भए पनि वा नभए पनि दुई/तीन हप्ताभित्र अमेरिका इरानबाट बाहिरिने बताएपछि तेलको मूल्य घटेको थियो भने शेयर बजार उकालो लागेको थियो ।
मध्यपूर्वमा चलिरहेको युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभई विश्व अर्थतन्त्रमा समेत गम्भीर दबाव सिर्जना गरेको छ ।
यसै सन्दर्भमा विश्व बैंकले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा पर्ने प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीच सहकार्य बढाएर सङ्कट व्यवस्थापनका उपाय खोज्ने प्रयास भइरहेको खबरमा उल्लेख छ ।


