
काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले संसदलाई राष्ट्रिय राजनीतिको वास्तविक ऐनाको रूपमा चित्रण गर्दै यसको गरिमा जोगाउन सभामुख र संसदले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिनु भएको छ ।
लोकतन्त्र र मुलुकको सार्वभौमिकताको रक्षार्थ संसदको भूमिका निर्णायक हुने उल्लेख गर्दै उहाँले संसद विभिन्न विचारधाराहरूको संगमस्थल भएकाले यहाँ देखिने मतभेद र बहसलाई लोकतन्त्रको सुन्दर पक्षका रूपमा स्वीकार्नुपर्ने बताउनु भएको हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा केसीले संसदभित्र हुने वाद, प्रतिवाद र संवादको प्रक्रियाले नै मुलुकलाई सही निष्कर्षमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । नयाँ सभामुखको निर्वाचन नहुँदासम्म सदन सञ्चालनको जिम्मेवारी सम्हालेका केसीले आफू तटस्थ, प्रभावकारी र निर्विघ्न रूपमा संसद अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनु भएको छ ।
सर्वदलीय बैठकमा भएका छलफलका आधारमा सबै राजनीतिक दलहरू सदनलाई सुचारु रूपले चलाउन सहमत देखिएकाले बैठक सञ्चालनमा कुनै अवरोध नहुनेमा उहाँ विश्वस्त देखिनु भयो । संसदले देशको राजनीतिक संस्कार र पहिचान झल्काउने भएकाले यसको संरक्षक र प्रवक्ताको रूपमा सभामुखको भूमिका अत्यन्तै संवेदनशील र ओजपूर्ण हुने उहाँको भनाइ छ ।
संविधानको रक्षा र जनताको सर्वोच्चतालाई केन्द्रमा राखेर सरकारले गर्ने सकारात्मक कार्यमा सबै दलको सहयोग हुनुपर्ने धारणा केसीले राख्नु भएको छ । संख्यात्मक शक्तिको खेलभन्दा पनि जनताको स्वाभिमान, विकास र समृद्धिलाई प्राथमिकता दिनुपर्ने भन्दै उहाँले सरकारका कमीकमजोरीमाथि रचनात्मक आलोचना गर्नु नै लोकतन्त्रको मूल मर्म भएको उल्लेख गर्नुभयो ।
वर्तमान सरकार जनताको तीव्र आकांक्षाको जगमा बनेकाले यसलाई अस्थिरता तर्फ धकेल्न नहुने तर गलत बाटो हिँड्दा खबरदारी गर्न छाड्न नहुने उहाँको तर्क छ । मुलुकको सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण अहिलेको प्रमुख चुनौती रहेको औंल्याउँदै केसीले विशेषगरी नीतिगत भ्रष्टाचार अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
ष्टाचार नियन्त्रणका नाममा गरिने कारबाहीहरू आग्रह वा पूर्वाग्रहबाट प्रेरित नभई पूर्णतः विधि र प्रक्रियामा आधारित हुनुपर्ने उनको चेतावनी छ । विधिको पालना गर्दा प्रक्रियालाई मिच्ने प्रवृत्तिले अन्ततः विधिहीनता नै निम्त्याउने भएकाले सरकारले असल नियतका साथ काम गर्नुपर्ने र त्यस्ता कार्यमा संसदको पूर्ण साथ रहने उहाँले स्पष्ट पार्नुभयो ।


