२०८२ चैत १९ बिहिवार , १२:०२:४५ बजे

Sajhamanch
'

सरकारी कार्यालयबाट बिचौलिया खाली गराउने अभियानमा प्रहरी

बिहिवार, चैत १९, २०८२

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-५ राधेराधेस्थित यातायात व्यवस्था कार्यालयबाट मंगलबार दुई बिचौलिया समातिए ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ घर भएकी २९ वर्षीया यमकुमारी श्रेष्ठ र चितवनको कालिका नगरपालिका-६ का ३० वर्षीय सुनिल थापा पक्राउ परे । उनीहरुलाई प्रहरी वृत्त थिमिबाट खटिएको प्रहरीले टोलीले पक्राउ गर्‍यो ।

सेवाग्राहीलाई अनावश्यक रुपमा दु:ख हैरानी दिने गरेको, सार्वजनिक सेवा प्रवाहलाई प्रभावित पारेको आरोपमा उनीहरु समातिएका हुन् ।

यातायात कार्यालयबाट दिइने सेवाहरु लाइसेन्स वितरण, नवीवकरण, ब्लु बुक नवीकरण, सवारी दर्ता किताब जस्ता कामहरुमा सेवाग्राहीलाई अनावश्यक दु:ख हैरानी दिने र फास्ट ट्रयाकबाट काम गरिदिने बाहानामा रकम लिने गरेको आरोप यातायाताका बिचौलियाहरुलाई लाग्दै आएको छ ।

सेवाग्राहीबाट बिचौलियाका बारेमा गुनासो आएपछि अनावश्यक दु:ख हैरानी दिनेलाई कानुनी दायारामा ल्याउने अभियान थालिएको काठमाडौंका उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रमुख तथा एआईजी ईश्वर कार्की बताउँछन् । ‘कानुन विपरीतको गतिविधि गर्ने छुट कसैलाई छैन । काममा अवरोध गर्ने, अनावश्यक दु:ख हैरानी दिनेलाई प्रहरीले कानुनी दायरामा ल्याउँछ’ एआईजी कार्की भन्छन् ।

भक्तपुरमा दुई जना पक्राउ परेकै समयमा काठमाडौंमा पनि १५ बिचौलिया समातिए । प्रहरी वृत्त स्वम्भुले मंगलबार मात्रै ७ बिचौलियालाई पक्राउ गर्‍यो ।

काठमाडौं महानगरपालिका–१५ सानो भ‍र्‍याङस्थित यातायात कार्यालयबाट वृत्त स्वम्भुले ७ बिचौलियालाई पक्राउ गर्‍यो ।

रौतहटका ३६ वर्षीय बलबहादुर सुनार, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३९ वर्षीय विज्ञान राई, काठमाडौं तारकेश्वरका ३१ वर्षीय सञ्जय राजवाहक, काठमाडौं रानिवनका ३६ वर्षीय विमल तामाङ, रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३५ वर्षीय रमेश कार्की, धादिङको निलकण्ठ नगरपालिका–५ कि ३६ वर्षीया कल्पना लम्साल र नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का ३९ वर्षीय उद्धव खनाल पक्राउ परे ।

उनीहरूबाट ५३ थान बिलबुक र १ लाख २२ हजार रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनीहरूले सेवाग्राहीलाई दु:ख हैरानी दिने, बिलबुक नवीकरण गरिदिन्छु भन्दै सार्वजनिक सेवा प्रवाहमा बाधा अवरोध गरेको आरोप छ ।

अहिले काठमाडौं परिसर र मातहतका कार्यालयहरु बिचौलिया नियन्त्रणको अभियान नै चलाएका छन् । स्वयम्भु वृत्तको जस्तै प्रहरी वृत्त थानकोटले मंगलबार मात्रै ८ बिचौलियालाई पक्राउ गर्‍यो ।

जसमा काठमाडौं कुलेश्वरका २५ वर्षीय पासाङ तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ का ३० वर्षीय सुनिल लामा, काठमाडौं चन्द्रागिरि नगरपालिका–६ का २३ वर्षीय सुदीप मगर, धादिङको थाक्रे गाउँपालिका–४ का २० वर्षीय बुद्ध तामाङ समातिए ।

त्यसैगरी मकवानपुरको थाहा नगरपालिका–९ का २६ वर्षीय सुमेश नेपाली, थाक्रे गाउँपालिका–४ का २४ वर्षीय अमन तामाङ, बझाङको तेलकोट गाउँपालिका–४ का १८ वर्षीय उज्जवल सिंह र मोरङको केराबारी गाउँपालिका–५ का २६ वर्षीय दिलिप राई पक्राउ परे ।

यसको अघिल्लो जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोको टोलीले पनि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयबाट १५ बिचौलियालाई पक्राउ गर्‍यो । पक्राउ परेका मध्ये चार जना त पटके रहेको परिसर ललितपुरका एसपी गौतम मिश्रले बताए ।

योसँगै दुई दिनमा उपत्यकाका चार यातायाता कार्यालयबाट ३२ बिचौलिया पक्राउ परेका छन् । उनीहरुलाई हिरासतमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यातायात कार्यालय जस्तै वैदेशिक रोजगार विभाग, राहदानी विभागजस्ता कार्यालयहरुमा बिचौलियाहरुको बिगबिगी रहेको गुनासो आउने गरेको छ । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालय टेकुले राहदानी विभागबाट पटक पटक बिचौलियाहरुलाई पक्राउ गर्दै आएको छ ।

अहिले फेरि बिचौलियाहरुले सेवाग्राहीलाई हैरानी गरेको गुनासो आउन थालेसँगै प्रहरीले सरकारी वकिल कार्यालयबाट धमाधम बिचौलियालाई पक्राउ गरेको छ ।

सम्बन्धित खबर