
तेह्रथुम । पूर्वी नेपालको तिनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रमा लालीगुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधिमाथि कडा कारबाही सुरु गरिएको छ।
गुराँस फुल्ने सिजनमा बढ्दो मानवीय हस्तक्षेपले जैविक विविधता र प्राकृतिक संरचनामै असर पार्न थालेपछि सामुदायिक वनहरूले निगरानी कडा बनाउँदै जरिवाना व्यवस्था लागू गरेका हुन्।
समुद्री सतहदेखि करिब १ हजार ७०० मिटरदेखि ५ हजार मिटर उचाइसम्म फैलिएको तिनजुरे–मिल्के–जलजले क्षेत्र ‘गुराँसको राजधानी’का रूपमा परिचित छ। हरेक वर्ष बसन्त लागेसँगै रातो, गुलाबी र सेता गुराँसले ढाकिने यस क्षेत्रमा आन्तरिक तथा भारतीय पर्यटकको उल्लेख्य आगमन हुन्छ। तर यही पर्यटक गतिविधिसँगै अनियन्त्रित रूपमा फूल टिप्ने, हाँगा भाँच्ने र वन क्षेत्रमै क्षति पुर्याउने प्रवृत्ति बढेपछि संरक्षण चुनौती बढेको छ।
चैत्रे सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काका अनुसार गुराँस संरक्षणका लागि अहिले कडाइ गरिएको छ । ‘गुराँस टिप्ने र हाँगा भाँच्नेहरूलाई भेटे जरिवाना तिराउने व्यवस्था गरेका छौं,’ उहाँले भन्नुभयो, ‘वन जोगाउन कर्मचारी राखेर निगरानीसमेत बढाइएको छ ।’ उहाँका अनुसार जथाभावी प्रयोग रोक्न गुराँसबाट जुस उत्पादनमा समेत नियमन सुरु गरिएको छ ।
उहाँका अनुसार गुराँसको दुरुपयोग रोक्न जुस उत्पादनजस्ता गतिविधिमा पनि नियमन थालिएको छ।
टिएमजे क्षेत्रमा नेपालमा पाइने ३२ प्रजातिमध्ये करिब २८ प्रजातिका गुराँस पाइन्छन्। रातो, सेतो, गुलाबी, पहेँलो र दुर्लभ प्रजातिका यी वनस्पतिले वन्यजन्तु र चराचुरुङ्गीलाई बासस्थान दिनुका साथै माटो संरक्षण, जलस्रोत जोगाउने र कार्बन संकलनमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्। तर जथाभावी टिपाइ र भौतिक क्षतिका कारण यसको पुनरुत्पादनमै समस्या देखिन थालेको छ।
स्थानीय तहले पनि संरक्षणका लागि पहल बढाएको जनाएको छ। लालीगुराँस नगरपालिका–७ का वडाध्यक्ष देवेन्द्र खड्काका अनुसार जंगलमा पानी पुर्याउने, पहिरो नियन्त्रण गर्ने तथा वन व्यवस्थापनका काम भइरहेका छन्। पाँचपोखरी क्षेत्रमा निर्माण गरिएको गुराँस पार्कमार्फत विभिन्न प्रजातिको संरक्षण प्रयास गरिएको उहाँले बताउनु भयो।
यद्यपि, वन अतिक्रमण, सडक विस्तार, काठ तथा दाउरा चोरी–निकासी र परजीवीको आक्रमणजस्ता समस्याले गुराँसको बासस्थान खुम्चिँदै गएको छ। यसले दीर्घकालीन रूपमा पर्यटन र स्थानीय अर्थतन्त्र दुवैमा असर पार्ने जोखिम देखिएको छ।
हालै बसन्तपुरमा आयोजित ‘पर्यावरणमा आधारित पर्यटन व्यवस्थापन तथा लालीगुराँस संरक्षण योजना तर्जुमा गोष्ठी’ ले पनि गुराँस संरक्षणका लागि कडा नीति आवश्यक रहेको निष्कर्ष निकालेको छ। गोष्ठीमा सहभागीहरूले गुराँस टिप्ने, हाँगा भाँच्ने र वन क्षेत्रमा क्षति पुर्याउने गतिविधिमाथि कडाइका साथ कारबाही गर्ने सहमति जनाएका छन्।
कार्यक्रममा वन तथा वातावरण विज्ञ डा. नवीन भट्टराईले गुराँसमा देखिएका समस्या, त्यसको प्रभाव, प्रभावित क्षेत्र र सम्भावित समाधानका विषयबारे चर्चा गर्दै ‘गुराँसको राजधानी’मै गुराँसका प्रजाति हराउँदै जानु चिन्ताजनक भएको बताएका थिए ।
सामुदायिक वन महासंघ कोशी प्रदेशका अध्यक्ष तुलसी संग्रौलाका अनुसार गुराँस संरक्षण बिना यहाँको पर्यावरण र पर्यटन दुवै जोखिममा पर्छ, त्यसैले समुदायको सक्रिय भूमिका अनिवार्य छ ।


