२०८२ चैत १९ बिहिवार , ०३:२९:४८ बजे

Sajhamanch
'

इन्डोनेशियामा गएको वर्ष वन फँडानी दर ६६ प्रतिशतले बढ्यो : प्रतिवेदन

मङ्गलवार, चैत १७, २०८२

झापा । इन्डोनेशियामा गएको वर्ष सन् २०२५ मा वन फँडानी दर ६६ प्रतिशतले बढेको एक वातावरणीय समूहले जनाएको छ ।

कमजोर वातावरणीय संरक्षण र महत्त्वाकाङ्क्षी खाद्य तथा ऊर्जा आत्मनिर्भरता अभियानको परिणामस्वरूप वन फँडानी आठ वर्षमा सबैभन्दा उच्च दरमा पुगेको समूहलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

वातावरणीय थिङ्क ट्याङ्क ‘औरिगा नुसान्टारा’ का अनुसार इन्डोनेशियामा सन् २०२५ मा ४ लाख ३३ हजार ७५१ हेक्टर वन फँडानी भएको छ । अघिल्लो वर्ष २ लाख ६१ हजार ५७५ हेक्टर वन फँडानी भएको थियो ।

बोर्नियो, सुमात्रा र पपुवा टापुहरूमा सबैभन्दा धेरै वन फँडानी भएको छ । कृषि उत्पादन बढाउने र आयात निर्भरता घटाउने उद्देश्यले राष्ट्रपति प्रबोवो सुबियान्तोले गर्नुभएको पहलसँग यो वृद्धि जोडिएको खबरमा उल्लेख छ ।

इन्डोनेशिया सरकारले सन् २०२५ मा खाद्य, ऊर्जा र पानीसम्बन्धी कार्यक्रमहरूका लागि २ करोड ६ लाख हेक्टर वन क्षेत्र छुट्याएको थियो जसमध्ये ४३ प्रतिशत प्राकृतिक वन थियो ।

थिङ्क ट्याङ्क ‘औरिगा नुसान्टारा’ का अनुसार गएको वर्ष ७८ हजार हेक्टरभन्दा धेरै खाद्य आरक्षित वन फँडानी भएको थियो, यो क्षेत्रफल अमेरिकाको न्यूयोर्क शहरको आकार बराबर हो ।

विज्ञहरूले सरकारलाई वनको राम्रो संरक्षणका लागि नियमहरू बलियो बनाउन आग्रह गरेका छन् ।

सम्बन्धित खबर