२०८२ चैत १७ मङ्गलवार , ०३:१५:५० बजे

Sajhamanch
'

ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा एनआईएमबीकी एक कर्मचारी पक्राउ

मङ्गलवार, चैत १७, २०८२

उदयपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । ग्राहकको खाताबाट पैसा चोरेको आरोपमा बैंकको गाईघाट शाखामा कार्यरत सुनिता बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक केदारमान दोङले उनी पक्राउ परेको पुष्टि गर्नुभयो ।

उहाँले नेपाल भन्नुभयो, ‘उनलाई पक्राउ गर्नका लागि बैंकले नै उजुरी दिएको थियो । जसका आधारमा बानियाँलाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’

पक्राउ परेकी बानिया उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ की स्थानीय हुन् । बैंकको गाईघाट शाखामा कार्यरत बानियाँले ग्राहकको पैसा हिनामिना गरेको आरोप छ । प्रहरीले उनीसँग प्रारम्भिक बयान समेत लिइसकेको छ । प्रारम्भिक अनुसन्धानकाक्रममा ती कर्मचारीले ग्राहकहरूको खातामा रहेको रकम दुरुपयोग गरेको देखिएको छ ।

उनको यो बदमासीको सुइँको बैंक व्यवस्थापनले थाहा पाएपछि आन्तरिक छानबिन सुरु गरिएको थियो । छानबिनका क्रममा रकम हिनामिना भएको पुष्टि भएपछि बैंकले प्रहरीलाई खबर गरेको थियो ।

हाल ती आरोपित कर्मचारी प्रहरीको हिरासतमा छिन् र उनीमाथि बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दोङले जानकारी दिनुभयो ।

‘उनीसँग थप विवरण लिने काम भइरहेको छ । यस कार्यमा उनी एक्लै हुन् की अन्य व्यक्तिको पनि संलग्नता छ भन्नेबारे पनि सूक्ष्म अध्ययन गरिरहेका छौँ’, उहाँले भन्नुभयो ।

सम्बन्धित खबर