२०८२ चैत १० मङ्गलवार , ०१:३८:४० बजे

Sajhamanch
'

भोजपुरमा ५ वर्षदेखि अस्पताल निर्माण अलपत्र, ठेकेदारमाथि कारबाही प्रक्रिया सुरू

मङ्गलवार, चैत १०, २०८२

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई कारबाही अघि बढाएको छ । आर्थिक वर्ष २०७७/७८ थालिएको १५ शय्याको कोट अस्पताल निर्माणलाई अलपत्र पार्ने निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया थालिएको हो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनी भूमि हिमालयन जेभी विराटनगरलाई स्पस्टीकरणसहित ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।

तोकिएको समयभित्र सम्पर्कमा नआएमा प्रचलित ऐन, नियमावली तथा सम्झौताअनुसार एकतर्फी रूपमा कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ ।

समयमा काम सम्पन्न नगरेको, निर्माणस्थल अलपत्र छाडिएको तथा पटकपटक ताकेता गर्दासमेत सम्पर्कमा नआएको भन्दै सम्बन्धित निर्माण कम्पनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४ तथा सम्झौतामा गरिएको शर्तबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउन सकिने जनाएको छ । ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने वा अन्य प्रशासनिक कारबाहीसमेत हुनसक्ने पालिकाका अधिकारी बताउँछन् ।

समयमै काम नसकिँदा स्थानीयले स्वास्थ्य सेवा विस्तारमा असहज भएको गुनासो गर्दै आएका छन् । यस किसिमको गैरजिम्मेवार व्यवहारप्रति कडाइ गर्दै सार्वजनिक विकास निर्माणलाई प्रभावकारी र समयमै सम्पन्न गराउन स्थानीय तह प्रतिबद्ध रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनु भयो ।

सम्बन्धित खबर