
झापा । कोलम्बियाली वायुसेनाको एउटा विमान देशको दक्षिणमा दुर्घटना भएको छ । रक्षा मन्त्री पेड्रो सान्चेजले अमेजन क्षेत्रको दुर्गम इलाकामा दुर्घटना भएको र यसलाई ‘भयानक दुर्घटना’ को संज्ञा दिनुभएको छ ।
राष्ट्रपति गुस्ताभो पेट्रोका अनुसार दुर्घटनामा ७७ जना घाइते भएका छन् भने अन्यको अवस्था स्पष्ट हुन सकेको छैन । तर विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले दुर्घटनापछि उद्धार कार्यमा खटिएका अधिकारीलाई उद्धृत गरी कम्तिमा ३४ जनाको ज्यान गएको बताएका छन् ।
यसअघि दुर्घटनालगत्तै ९० जनाको ज्यान गएको भनिएको थियो । तर ज्यान गुमाउनेहरुको यकिन विवरण आउन नसकेको कोलम्बियाका सरकारी अधिकारीले पछिल्लो विवरणमा बताएका छन् ।
विमानमा ११० सैनिक र ११ जना चालक दलका सदस्य गरी कुल १२१ जना सवार थिए । यसअघि १२५ जना सवार रहेको बताए पनि पछि वायुसेनाले १२१ जना रहेको पुष्टि गरेको हो । वायुसेना कमाण्डर कार्लोस फर्नान्डो सिल्भाले दुर्घटनाको स्पष्ट कारण खुल्न नसकेको बताउनुभएको छ ।
दुईवटा विशेष विमान घटनास्थलमा परिचालन गरी घाइतेको उद्धार गरिएको छ । अरुको खोजी तथा उद्धार कार्य भैरहेको छ । सेनाको ढुवानीका लागि प्रयोग हुने सी–१३० हर्कुलस विमान पुतुमायो प्रान्तको पोर्टो लेगुइजामो शहर नजिकै खसेको हो ।
विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।


