
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष वन डढेलोका घटनामा कमी आउने विश्वास व्यक्त गर्नु भएको छ।
सोमबार काठमाडौंमा आयोजित वन डढेलो सम्बन्धी एक कार्यक्रममा बोल्दै उहाँले हिउँदे वर्षाका कारण वनमा डढेलो लाग्ने प्राकृतिक सम्भावना घटेको बताउनु भएको हो।
सचिव शर्माका अनुसार पुस र माघ महिनामा भएको वर्षाले वन क्षेत्रको माटोमा चिसोपन बढाएको र पातपतिङ्गरहरू कुहिने प्रक्रिया सुरु भएकाले डढेलोका लागि आवश्यक इन्धन कम भएको छ। ‘हाम्रो अनुभवमा जनवरीको अन्त्यतिर वा हिउँदमा राम्रो वर्षा भयो भने त्यो वर्ष वन डढेलोका घटना कम हुन्छन्,’ उहाँले भन्नुभयो, ‘यसपटकको वर्षाले पातपतिङ्गरलाई कुहाउने र माटोले ओस सोस्ने भएकाले आगलागीको जोखिमलाई धेरै हदसम्म घटाएको छ।’
यद्यपि, प्राकृतिक रूपमा जोखिम कम देखिए पनि मानवीय लापरवाही वा आकस्मिक घटनाबाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न उत्तिकै चनाखो हुनुपर्नेमा उहाँले जोड दिनु भएको छ।
कतिपय क्षेत्रमा डढेलोको जोखिम कम भए पनि असावधानीका कारण हुने सानो आगलागीले ठूलो क्षति पुर्याउन सक्ने भएकाले सुरक्षा सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो। तापक्रमको वृद्धि र जलवायु परिवर्तनका अन्य उतारचढावले पनि आगलागीका घटनालाई प्रभाव पार्ने उहाँको भनाइ छ।
वन डढेलो नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि यस क्षेत्रमा थप अनुसन्धानको आवश्यकता रहेको समेत सचिव शर्माले औंल्याउनु भएको छ। कुन क्षेत्र बढी जोखिममा छन् र आगलागीका घटनालाई कसरी प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ भन्नेबारे विस्तृत अध्ययन भएमा मात्रै भविष्यमा हुने क्षति कम गर्न सकिने उहाँले बताउनु भयो। सरकारी संयन्त्र र स्थानीय समुदाय मिलेर डढेलो नियन्त्रणमा लाग्नुपर्ने अवस्था रहेको उहाँको तर्क छ।


