२०८२ चैत ९ सोमवार , ०३:०२:४६ बजे

Sajhamanch
'

एल निनोको खतरा बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घद्वारा नयाँ जलवायु चेतावनी जारी

सोमवार, चैत ९, २०८२

काठमाडौं । एल निनोको खतरा बढ्दै जाँदा संयुक्त राष्ट्रसङ्घले नयाँ जलवायु चेतावनी जारी गरेको छ । एल निनोका कारण पृथ्वीको जलवायु सन्तुलन खलबलिने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको मौसम निकायलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

एल निनो समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।

विश्व मौसम विज्ञान सङ्गठनले तापक्रम वृद्धि गर्ने कार्बनडाइअक्साइडजस्ता ग्यासहरूको उत्सर्जनका कारण पृथ्वीले उत्सर्जन गर्न सक्ने भन्दा धेरै ताप ऊर्जा प्राप्त गरिरहेको बताएको छ। पृथ्वीको जलवायु असन्तुलनले गर्दा गएको वर्ष समुद्रको तापक्रम कीर्तिमानी उच्च विन्दुमा पुगेको र बरफ पग्लने क्रम पनि बढेको खबरमा उल्लेख छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु सुरक्षा, ऊर्जा सुरक्षा र राष्ट्रिय सुरक्षा प्रदान गर्न जीवाश्म इन्धनबाट नवीकरणीय ऊर्जामा सर्ने देशहरूलाई आफ्नो आह्वान दोहोर्‍याउनुभएको छ ।

यसैबीच विश्व मौसम विज्ञान सङ्गठनले सन् १८५० देखिको रेकर्डमा पछिल्ला ११ वर्ष पृथ्वीको सबैभन्दा तातो वर्ष रहेको बताएको छ। गएको वर्ष पृथ्वीको तापक्रम औद्योगिक क्रान्तिको बेलाको स्तारभन्दा झन्डै १ दशमलव ४३ सेल्सियस बढी रहेको थियो ।