
- सञ्जु सिवाकोटी
अर्जुनधारा । अभाव र कठिनाइबीच पनि ठूलो सपना देख्ने विद्यार्थी हुन् रीमा मुखिया। अर्जुनधारा नगरपालिका ६, बिहानी टोलकी रीमा हाल श्री बालकल्याण आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत छिन्। सानै उमेरमा धेरै संघर्ष भोगेकी उनी पढाइमा पनि अब्बल छिन्।
रीमा नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययनरत छिन्। उनी सानै उमेरमा भारतबाट नेपाल आएकी हुन्। जीवन सामान्य चल्दै गरेको बेला बुवाको असामयिक निधन भएपछि परिवार नै ठूलो आर्थिक संकटमा परेको उनले सुनाइन् । रीमा भन्छिन्, “बुवा हुँदा सायद यति धेरै संघर्ष गर्नु पर्दैनथ्यो कि जस्तो लाग्छ । बुवाको अभाव सधैं खड्किन्छ । बेलुका बुवासँग घुम्न गएको सम्झना अझै पनि आउँछ ।”
अहिले परिवारको सम्पूर्ण जिम्मेवारी उनकी आमाले सम्हाल्दै आएकी छन्। उनकी आमा बिहानै कृषिथोक बजार पुगेर बदाम ल्याउने र दिउँसोदेखि बेलुकासम्म ठेलामा राखेर वा घरघर पुगेर बेच्ने गर्छिन् । बदामको व्यापार नभएका दिनहरूमा उनी अरूको खेतबारीमा काम गर्न पनि जाने गरेको रीमाले बताइन्।
परिवारको आर्थिक अवस्था कमजोर भएकाले दैनिक जीवनयापनमा पनि कठिनाइ हुने गरेको छ। रीमा भन्छिन्, “एकपटक घरमा चामल सकिएको थियो । अलिकति गहुँको पिठो मात्र थियो । हामी सबैले त्यही बाँडेर खाएका थियौँ ।”
कठिनाइका बाबजुद पनि रीमा पढाइमा भने निकै मेहनती र प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिन्छिन्। कक्षा ७ बाट ८ मा उक्लिँदा उनले ए प्लस ल्याएर आफ्नो क्षमता प्रमाणित गरेकी छन् । विद्यालयले पनि उनको प्रतिभा र अवस्था बुझेर सहयोग गर्दै आएको प्रधानाध्यापक डम्बरकुमार यादव बताउँछन् ।
“रीमा अत्यन्त मेहनती र अनुशासित विद्यार्थी हुन् । आर्थिक अवस्था कमजोर भए पनि उनले पढाइमा राम्रो नतिजा ल्याएकी छन् । यस्ता विद्यार्थीलाई विद्यालयले सकेसम्म सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि सहयोग गर्नेछ” प्रधानाध्यापक यादव बताउँछन् ।
विद्यालयका शिक्षक शान्ता थापा चौलागाईंका अनुसार रीमा निकै लगनशील विद्यार्थी हुन् । “रीमामा पढाइ बुझ्ने र स्मरण शक्ति राम्रो छ। भविष्यमा लोकसेवा जस्ता प्रतिस्पर्धात्मक परीक्षामा पनि राम्रो गर्न सक्ने क्षमता देखिन्छ” उनले भनिन् ।
परिवारले हाल झेलिरहेको आर्थिक अवस्था सुधार्ने सपना बोकेकी रीमाको लक्ष्य मेहेनत गरेर पढ्ने र सरकारी जागिर खाने नै रहेको छ । रिमाका एकजना दिदी र तीनजना भाइ छन् । रीमा भन्छिन् “अहिले दुःख भए पनि पछि राम्रो समय आउला भन्ने विश्वास छ।”
आमाको मेहनत र बुवाको सम्झनालाई प्रेरणाको स्रोत बनाउँदै अघि बढिरहेकी रीमा मुखिया धेरैका लागि प्रेरणादायी उदाहरण बनेकी छन्। उनको मेहनत र दृढ इच्छाशक्तिले भविष्यमा अवश्य पनि सफलताको शिखर चुम्ने विश्वास गर्न सकिन्छ।


