
झापा । अमेरिकी कार निर्माता कम्पनी ‘टेस्ला’ ले २ अर्ब ९० करोड डलर बराबरको सौर्य उपकरण किन्न चिनियाँ कम्पनीहरूसँग वार्ता गरिरहेको छ ।
‘टेस्ला’ ले सौर्य प्यानल र सेलहरू निर्माण गर्नका लागि ‘सुझोउ म्याक्सवेल टेक्नोलोजिज’ लगायत चिनियाँ आपूर्तिकर्ताहरूबाट उपकरण किन्न खोजिरहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
विश्वकै सबैभन्दा धनी व्यक्ति एवम् टेस्लाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलोन मस्कले अमेरिकामा १०० गिगावाट सौर्य क्षमता थप्ने लक्ष्य राख्नुभएको छ ।
‘सुझोउ म्याक्सवेल टेक्नोलोजी’ सौर्य सेल बनाउन प्रयोग हुने स्क्रिन–प्रिन्टिङ उपकरणका लागि विश्वको सबैभन्दा ठूलो उत्पादक हो । टेस्लाले आफ्नो परियोजनाका लागि उपकरण किन्न चीनको वाणिज्य मन्त्रालयबाट निर्यात स्वीकृति खोजिरहेको छ ।
यस्तै टेस्लाका लागि अन्य सम्भावित आपूर्तिकर्ताहरूमा ‘शेन्जेन एससी न्यू इनर्जी टेक्नोलोजी’ र ‘ल्याप्लेस रिन्यूएबल इनर्जी टेक्नोलोजी’ रहेका छन् ।
मस्कले मुख्यतया ‘टेस्ला’ को प्रयोगका लागि सौर्य क्षमता निर्माण गर्ने योजना बनाउनुभएको छ । यद्दपि केही उपकरणहरू आफ्नो निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ उपग्रहहरूलाई उर्जा दिन प्रयोग गरिने खबरमा उल्लेख छ ।


