
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । निर्माणाधीन पक्की पुल बाढीले भत्काएपछि सोही स्थानमा झोलुङ्गे पुल निर्माण गरिएको हो ।
चौदण्डीगढी नगरपालिकाका प्रमुख कालुमान लामाका अनुसार २८० मिटर लम्बाइ र पाँच मिटर चौडाइ भएको सो पुल निर्माण गर्न करिब रु. ६० लाख खर्च भएको छ ।
सो स्थानमा पक्की पुल निर्माण नहुँदा चौदण्डीगढी नगरपालिकाका त्रियुगा नदी पारीका वडा नं. १०, ५ र ९ का बासिन्दालाई कठिनाइ भएको थियो ।
वर्खामा डुङ्गाको प्रयोग गरेर नदी तर्नुपर्ने बाध्यता थियो । झोलङ्गे पुल निर्माण भएपछि उक्त क्षेत्रका झण्डै पाँच हजार बासिन्दालाई बेल्टार बजार आवतजावत गर्न सहज भएको नगरपालिकाकी उपप्रमुख मणिकादेवी दुलालले बताउनु भयो ।
त्रियुगा नदीस्थित बेलहीमा २०६७ सालमा नै पक्की पुल निर्माण थालिएको थियो । यसका लागि रु. ११ करोड २७ लाख विनियोजन गरिएको थियो । वि.सं. २०७८ मा त्रियुगाको बाढीले पक्की पुलको तीन पिलर र स्ल्याब भत्काएको थियो ।


