
झापा । इजरायल र अमेरिकाले इरानमा आक्रमण गरेपछि मध्यपूर्वमा शुरू भएको युद्ध अब ऊर्जा युद्धका रूपमा परिणत हुन थालेको छ ।
इजरायली वायुसेनाले इरानका प्रमुख तेल प्रशोधन केन्द्रहरूमा हवाई आक्रमण गरेपछि इरानले पनि खाडीका देशहरूमा रहेका तेल प्रशोधन केन्द्र र ढुवानी पूर्वाधारमा जवाफी आक्रमण थालेको छ ।
ऊर्जा पूर्वाधारमाथिको आपसी आक्रमणले विश्व तेल बजारमा गम्भीर धक्का दिएको छ । इरानले होर्मुज मार्ग बन्द गरेपछि विश्व बजारमा प्रतिदिन झन्डै २ करोड ब्यारेल तेलको आपूर्ति अवरुद्ध भएको छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यसलाई इतिहासकै सबैभन्दा ठूलो तेल आपूर्ति अवरोध भनेको छ । यसको सीधा असर मूल्यमा देखिएको छ । कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलर नाघेको छ, यो सन् २०२२ मा रुस–युक्रेन युद्ध शुरू भएयताकै उच्च हो ।
आपूर्ति सङ्कट व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका ३२ सदस्य देशले रणनीतिक भण्डारबाट ४० करोड ब्यारेल तेल निकाल्ने निर्णय गरेका छन् । तर विश्लेषकहरू यसले महिनौँसम्म चल्न सक्ने सङ्कटको एउटा सानो अंश मात्र पूर्ति गर्न सक्ने बताउँछन् ।
एशियाली देशहरू यस सङ्कटबाट सबैभन्दा धेरै प्रभावित छन् । एशियाको ८० प्रतिशत तेल आयात होर्मुज जलमार्ग हुँदै ढुवानी हुने गर्छ ।
विश्व आर्थिक मञ्चको विश्लेषणअनुसार इरान सैन्य शक्तिमा अमेरिका र इजरायलसँग प्रतिस्पर्धा गर्न नसक्ने हुँदा उसले ऊर्जा र व्यापारिक पूर्वाधारलाई हतियारका रूपमा प्रयोग गरेर युद्धको मूल्य अन्तर्राष्ट्रियकरण गर्ने रणनीति अपनाएको छ ।
यो सङ्कटले विश्व आर्थिक वृद्धि घटाउनुका साथै मुद्रास्फीति थप बढाउने खतरा छ । अन्तर्राष्ट्रिय विश्लेषकहरू मध्यपूर्वको युद्ध अब केवल त्यस क्षेत्रको लडाइँ नभई विश्वको इन्धन भविष्यमाथिको सङ्घर्ष बनिसकेको बताउँछन् ।


