२०८२ चैत ५ बिहिवार , ०२:४५:३९ बजे

Sajhamanch
'

हावाहुरीले उदयपुरमा १ करोड २० लाखभन्दा बढीको भौतिक क्षति, २ को मृत्यु

बिहिवार, चैत ५, २०८२

उदयपुर । उदयपुरमा हावाहुरीले एक करोड २० लाख ६६ हजार ५०० बराबरको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयले संकलन गरेको विवरणअनुसार हुरीबतासले जिल्लाका ६ स्थानीय तहका विद्यालय, सामुदायिक भवन र निजी घर गरी १३५ संरचनामा क्षति पुगेको छ । सबैभन्दा बढी निजी घरमा क्षति पुगेको हो । दुई विद्यालय, पाँच सामुदायिक भवनका साथै १२८ घरमा क्षति पुगेको कार्यालयले जनाएको छ ।

सबै संरचनाको छानो आंशिक तथा पूर्ण रुपमा उडाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निरञ्जन थापाले बताउनु भयो । जिल्लामा धेरै जनधनको क्षति भएकाले क्षति विवरण संकलन गर्न तीन दिन लागेको उहाँले बताउनु भयो ।

कटारी नगरपालिकामा ६३, ताप्लीमा ३२, लिम्चुङबुलमा २५, उदयपुरगढीमा ४, रौतामाईमा २ र चौदण्डीगढीमा २ गरी १२८ घरको छानो उडाउँदा एक करोड, चारलाख ३१ हजार क्षति पुगेको छ । अधिकांश जस्तापाताले छाएको काठे घर र केही ढुंगामाटो तथा बाँसको टाटी र फुसको छानो भएको घर क्षतिमा परेका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक केदारमान दोङका अनुसार हावाहुरीले कटारी–५ तिनकुनेचौकका ६४ वर्षीय वीरेन्द्र चौधरी र कटारी– ८ थलियाटारकी ४९ वर्षीया मीनामाया तामाङको मृत्यु भएको छ । ४६ वर्षीय लीलाबहादुर दनुवार र २० वर्षीया कमलकुमारी मगर गम्भीर घाइते भए । कमलकुमारीलाई थप उपचारका लाठि काठमाडौं लगिएको छ ।