
काठमाडौं । कांग्रेस सभापति गगन थापाले आफूले दिएको राजीनामाको निर्णय पराजित मानसिकताबाट नआएको उल्लेख गर्नु भएको छ ।
सभापति थापाले बुधबार उपपसभापति विश्वप्रकाश शर्मालाई बुझाएको राजीनामा पत्रमा आफूले राजीनामा दिनुको कारण उल्लेख गर्नु भएको छ । ‘मेरो यो निर्णय कुनै पराजित मानसिकताको उपज होइन, बरु लोकतान्त्रिक संस्कारमा परिणामको जिम्मेवारी लिनु नेतृत्वको कर्तव्य पनि हो भन्ने जिम्मेवारीबोधको अभिव्यक्ति हो,’ थापाको राजीनामा पत्रमा छ ।
उहाँले आफ्नो जिम्मेवारी निर्वाह गर्दा वा कुनै निर्णय लिँदा देश, लोकतन्त्र र पार्टीको हितमा उचित ठानेका निर्णयहरू नै गरेको दाबी गर्नु भएको छ। उहाँले सभापतिबाट राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट आफू अलग नभएको उल्लेख गर्नु भएको छ ।
‘आज मैले पार्टीको सभापति पदबाट राजीनामा दिने निर्णय गरेको हुँ, तर पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग भएको छैन,’ उहाँले भन्नु भएको छ, ‘आगामी दिनहरूमा म देशका विभिन्न भागमा पुगेर पार्टीका साथीहरूसँग र आम नागरिकसंग संवाद गर्नेछु, उहाँहरूको भावना बुझ्नेछु र सुझाव सुन्नेछु । नेपाली कांग्रेसको पुनर्निर्माण तथा सुदृढीकरणको यात्रामा सक्रिय रूपमा थप उर्जाका साथ संलग्न रहनेछु ।’
थापाले पार्टीका विभिन्न तहमा रहेको व्यक्तिहरू समर्थक र शुभेच्छुकहरूले पठाइरहेका सन्देशहरूले ऊर्जा दिएको बताउनु भएको छ। ‘ती सन्देशहरू केवल समर्थन मात्र होइनन्, ती भविष्यप्रतिको अपेक्षा र विश्वासका प्रतीक पनि हुन् । म प्रतिको त्यो विश्वासलाई अझै गहिरोसँग कायम राख्नुपर्छ भन्नेमा प्रष्ट छु,’ थापाको राजीनामा पत्रमा उल्लेख छ ।


