२०८२ चैत ३ मङ्गलवार , ०४:२७:१८ बजे

Sajhamanch
'

इन्धन बचत गर्न श्रीलङ्कामा हप्तामा ३ दिन बिदा

मङ्गलवार, चैत ३, २०८२

झापा । इन्धन बचत गर्न श्रीलङ्का सरकारले प्रत्येक बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

मध्यपूर्वमा इरानसँग अमेरिका र इजरायलको युद्धले ऊर्जा आपूर्तिमा अनिश्चितता बढेपछि श्रीलङ्काले अर्को सूचना नभएसम्मका लागि भोलिदेखि लागू हुने गरी बुधवार सार्वजनिक बिदा दिने घोषणा गरेको बीबीसीले जनाएको छ ।

हप्तामा तीन दिन बिदा हुने नियम सबै शैक्षिक संस्थाहरूमा पनि लागू हुनेछ । तर अत्यावश्यक सेवा प्रदान गर्ने स्वास्थ्य तथा अध्यागमन कार्यालयजस्ता सरकारी निकायहरूमा यो लागू नहुने अधिकारीहरूले बताएका छन् । हप्तामा तीन दिन लगातार सरकारी कार्यालयहरू बन्द नहोऊन् भनेर शुक्रवारको सट्टा बुधवार बिदा दिने निर्णय गरेको अधिकारीहरूको भनाइ छ ।

अमेरिका र इजरायलले गएको महिलना इरानमा आक्रमण गर्न थालेयता विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । मध्यपूर्व युद्धका कारण ‘स्ट्रेट अफ हर्मुज’ मा तेल बोकेका ट्याङ्कर र पानीजहाजहरूमाथि इरानले आक्रमण गर्दै आएको छ ।

ऊर्जा सङ्कट बढ्दै जाँदा अन्य एशियाली देशहरूले इन्धन बचतका लागि विभिन्न उपायहरू अपनाएका छन् ।

थाइल्यान्ड सरकारले एअर कन्डिसनरको प्रयोग कम गर्नका लागि नागरिकलाई छोटा बाहुला भएका लुगा लगाउन आग्रह गरेको छ ।

यस्तै म्यानमार सरकारले निजी गाडीहरूलाई लाइसेन्स प्लेट नम्बरका आधारमा पालैपालो दिनमा मात्र सञ्चालन गर्न अनुमति दिएको छ ।

यस्तै बङ्गलादेशले विश्वविद्यालयहरूमा रमजान बिदा अगाडि सार्दै देशभर योजनाबद्ध रूपमा लोडशेडिङ शुरू गरेको छ ।

यस्तै फिलिपिन्समा केही सरकारी कार्यालयहरूले कर्मचारीहरूलाई हप्तामा कम्तीमा एक दिन घरबाट काम गर्न भनेका छन् । फिलिपिन्स सरकारले ट्राइसाइकल चालक, किसान र माछापालन व्यवसायमा संलग्न व्यक्तिहरूलाई बढ्दो इन्धन मूल्यको असर कम गर्न ३ हजारदेखि ५ हजार पेसोसम्म नगद सहायता दिने घोषणा गरेको छ ।

यस्तै भियतनामले नागरिकलाई सकेसम्म घरमै बस्न, साइकल चलाउन, सार्वजनिक गाडी प्रयोग गर्न प्रोत्साहन गरेको छ ।

सम्बन्धित खबर