
विराटनगर । विराटनगरको कञ्चनबारीमा रहेको सिटिजन्स बैंकमा ४ करोड ९१ लाख हिनामिना भएको पाइएको छ । आफ्नै कर्मचारीको मिलेमतोमा यति ठूलो रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले प्रहरीमा उजुरी दिएको छ ।
कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको बैंकबाट उजुरी आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कविद कट्टुवालले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘उजुरी परेको छ । हामी छानबिन गरिरहेका छौँ । अनुसन्धान भइरहेकाले अहिले नै यसै हो भन्न सक्ने अवस्था रहेन ।’
अनुसन्धानका लागि आवश्यक कागजात माग भइ छानबिन थालिएको प्रहरीको भनाइ छ । रकम घोटालामा संलग्न व्यक्तिबारे अहिले खुलिनसकेको कट्टुवालले बताउनु भयोञ ।
बैंक स्रोतका अनुसार घोटालामा ५ जना कर्मचारीको संलग्नता देखिएको र उनीहरू सबैमाथि कारबाहीका लागि उजुरी गरिएको हो । कञ्चनबारी शाखामा कार्यरत रोजी कँडेलको नेतृत्वमा सो घोटाला भएको आन्तरिक लेखापरीक्षणमा देखिएको स्रोत बताउँछ ।
आन्तरिक लेखा परीक्षणमा ठूलो परिमाणमा रकम हिनामिना भएको देखिएपछि बैंक प्रशासनले संलग्न कर्मचारीलाई निलम्बन गरिसकेको छ । हिनामिना भएको रकम असुलउपर गर्न र दोषीलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिइएको बैंक स्रोत बताउँछ ।
ती कर्मचारीले फिक्स डिपोजिटमा राखेको रकमलाई धितो देखाएर नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको स्रोतको भनाइ छ ।


