२०८२ चैत २ सोमवार , ०१:४६:१३ बजे

Sajhamanch
'

संसदीय राजनीतिबाट सन्यास लिने सिके राउतको घोषणा

सोमवार, चैत २, २०८२

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नु भएको छ । तर ‘संघर्षको राजनीति’ जारी राख्ने उहाँको भनाइ छ ।

‘संसदीय राजनीतिबाट सन्यास लिने, संघर्षको राजनीति जारी राख्ने । पार्टीलाई आवश्यकता रहेसम्म नेतृत्व दिँदै अगाडि बढाउने,’ उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘म सार्वजनिक रूपमा स्पष्ट पार्न चाहन्छु– म संसदीय (पदको) राजनीतिबाट टाढा रहनेछु तर यसको मतलब राजनीतिबाट बीचमै गायब भएको होइन ।’

उहाँले थप लेख्नु भएको छ, ‘राजनीतिमा सक्रिय रहँदै, आफ्नो सिद्धान्त र एजेण्डालाई निरन्तर अगाडि बढाउँदै, जनताको लागि निरन्तर संघर्ष गर्दै जनताको सेवामा रहने नै छु ।’

सिके राउत नेतृत्वको जनमत पार्टी २०७९ सालको प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनबाट उदाएको दल हो ।

त्यसबेला जनमत पार्टी राष्ट्रिय दल बनेको थियो । प्रत्यक्षमा अध्यक्ष राउत आफैँले चुनाव जित्नु भएको थियो । समानुपातिकतर्फ थ्रेस होल्ड हटाएर जनमत पार्टीले थप पाँच सांसद सिट प्राप्त गरेको थियो । तर, २०८२ फागुन २१ के निर्वाचनमा जनमत पार्टीले एक सिट पनि प्राप्त गर्न सकेन ।

सप्तरी २ बाट चुनावमा प्रतिस्पर्धा गरेका अध्यक्ष राउत रास्वपाका रामजी यादवसँग पराजित भए । जनमत पार्टीका प्रत्यक्षतर्फका अन्य उम्मेदवारले पनि चुनाव जितेनन् । समानुपातिकतर्फ पनि थ्रेसहोल्ड कटेन ।

अध्यक्ष राउतले अब संसदीय राजनीतिबाट टाढा रहने तर पार्टीलाई आगामी निर्वाचनका लागि तयार गर्नमा लाग्ने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘जनमत पार्टीलाई आउँदो स्थानीय र प्रदेश निर्वाचनका लागि तयारी गराउन प्रतिबद्ध छु ।’

आफू सदैव जनताहरूको बीचमा नै रहने, हरेक मोर्चा र संघर्षमा खडा हुने, अधिकार र पहिचानको लडाईंमा सदैव भूमिका निर्वाह गर्ने पनि उहाँले बताउनु भएको छ ।

इच्छा विपरीत पार्टी अध्यक्ष बनेको जिकिर

जनमत पार्टीको अध्यक्ष पनि अरुले नमानेपछि आफैँ बन्नुपरेको बाध्यता उहाँले उल्लेख गर्नु भएको छ ।

सरकारले बिलकुलै कुनै काम गर्न नदिएपछि र जनतामा जान पूर्णतः रोक लगाए पछि पार्टी खोल्नुपर्यो भनेर अगाडि बढेको उल्लेख गर्दै उहाँले फेसबुकमा लेख्नु भएको छ, ‘सो पार्टीको अध्यक्ष बन्नका लागि नरेन्द्र प्रसाद चौधरीज्यू सहितका साथीहरूलाई जनकपुरमा बोलाएर पटक–पटक कन्भिन्स गर्नुभयो । उहाँहरूले नमानेपछि म आफैं जनमत पार्टीको अध्यक्ष बन्नु परेको थियो ।’

व्यक्तिगत इच्छा विपरीत दुई पटक संसदीय निर्वाचन लडेको पनि उहाँले दाबी गर्नु भएको छ । २०७९ को चुनाव जितेका उहाँ यसपटक भने पराजित हुनुभएको छ।

सम्बन्धित खबर