
काठमाडौं । चुनावमा तीन प्रतिशत ‘थ्रेसहोल्ड’ कटाएका ६ वटा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ पेस गरेका ११० जना उम्मेदवारको नाममा निर्वाचन आयोगले ‘क्लस्टर’ अनुसार रुजु प्रक्रिया अघि बढाएको छ ।
सदर मतमध्ये सबैभन्दा धेरै मत प्राप्त गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७ जना सांसदको सूची हिजो आयोगमा पेस गरेको छ । यसैगरी नेपाली कांग्रेसले २०, नेकपा (एमाले) ले १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ९, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ४/४ जना उम्मेदवारको सूची क्लस्टर मिलाएर पेस गरेका छन् ।
क्लस्टर अर्थात् समावेशी समूहअनुसार सूची मिले/नमिलेको रुजु प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ । दलहरूले बुझाएको सूचीमा त्रुटि नभए आज नै निर्वाचितको सूची सार्वजनिक गर्ने आयोगको तयारी छ ।
दलहरूले समावेशी समूहअनुसार बुझाएको सूचीमा केही त्रुटि भएमा मिलाएर पठाउन फेरि समय दिनुपर्ने आयोगको भनाइ छ । सूची प्रकाशनपछि निर्वाचित भएको प्रमाणपत्र वितरण गरिनेछ ।
समानुपातिकतर्फ निर्वाचित सांसदको टुङ्गो लागिसकेपछि प्रतिवेदन तयार गरेर निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउनेछ । त्यसपछि नयाँ सरकार बनाउने बाटो खुल्नेछ
। अबको एक हप्ताभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने रास्वपाले जनाएको छ ।


