२०८२ चैत १ आइतवार , ११:३६:३८ बजे

Sajhamanch
'

पहिरोले धनकुटा र पाँचथर जोड्ने भेडेटार-रवि-राँके सडक २ दिनदेखि अवरुद्ध

आइतवार, चैत १, २०८२

धनकुटा । पहिरो गएपछि धनकुटा र पाँचथर जोड्ने भेडेटार–रवि–राँके सडक अवरुद्ध भएको छ ।

उक्त सडक अन्तर्गत साँगुरीगढी गाउँपालिका–३ नाम्जे नजिक शुक्रबार बिहानदेखि पहिरो खसिरहेको छ । सडकमा थुप्रिएको माटो र ढुंगा पन्छाउने प्रयास भए पनि शनिबार बिहानदेखि पुनः पहिरो खस्न थालेपछि समस्या भएको हो ।

प्रहरीका अनुसार करिब ३०० मिटर क्षेत्रमा माटोढुंगा थुप्रिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक निर्माणको जिम्मा लिएको एप्को इन्फ्राटेच निर्माण कम्पनीले एक्स्काभेटर तथा जेसीभीलगायतका उपकरण प्रयोग गरेर पहिरो हटाउने प्रयास गरिरहेको छ । तर, लगातार पहिरो झर्दा सडक खुलाउन कठिनाइ भएको छ ।

लगातार ढुंगा खसिरहेकाले पहिरो पन्छाउने काम असहज भएको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले बतायनु भयो ।

उक्त स्थानमा खटिएका इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रमेश प्रधानका अनुसार सडक माथिल्लो भागबाट ढुंगा, माटो तथा रुख समेत झर्न थालेपछि यातायात पूर्ण रूपमा बन्द गरिएको हो ।

सडक अवरुद्ध भएपछि रोकिएका सवारी साधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाउने व्यवस्था मिलाइएको छ । हाल उक्त सडक थप चौडा विस्तार गरी स्तरोन्नतिको गर्ने काम समेत भइरहेको छ ।

भेडेटार–रवि–राँके सडक हुँदै धरान र धनकुटाबाट चौबिसे क्षेत्र तथा पाँचथरसम्म नियमित रूपमा यातायात सञ्चालन हुने गरेको भए पनि पहिरोका कारण दुई दिनदेखि सम्पूर्ण सवारी साधन ठप्प भएका छन् ।

सम्बन्धित खबर