२०८२ फागुन २९ शुक्रवार , ०३:३६:१२ बजे

Sajhamanch
'

आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना

शुक्रवार, फागुन २९, २०८२

झापा । आकाशमै इन्धन भर्न प्रयोग हुने अमेरिकी सैन्य विमान इराकमा दुर्घटना भएको छ । इरानविरुद्ध संयुक्त सैन्य कारबाहीमा प्रयोग भइरहेको केसी–१३५ विमान पश्चिमी इराकमा दुर्घटना भएको अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’ लाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

इन्धन भर्न प्रयोग भइरहेको दुईमध्ये एउटा विमान दुर्घटना भएको हो । अर्को विमान भने सुरक्षित रूपमा अवतरण गर्न सफल भएको छ । सेन्ट्रल कमान्डका अनुसार विमान दुर्घटना हुनुमा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता देखिएको छैन । अहिले उद्धार कार्य चलिरहेको अमेरिकी सेनाले जनाएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार इरान समर्थित विराधी समूहले घटनाको जिम्मेवारी लिएको छ । विमानमा कति जना सवार थिए भन्नेबारेमा अहिलेसम्म कुनै जानकारी सार्वजनिक भएको छैन ।

यी विमानहरू युद्धका बेला आकाशमै अन्य विमानहरूलाई इन्धन भर्न परिचालित गरिन्छन् । यसले लडाकु विमान र बमवर्षक विमानलाई आकाशमै इन्धन भरेर लामो दूरी तय गर्न मद्दत पुर्‍याउँछ ।

यसैबीच मध्यपूर्वमा तनावको अवस्था कायमै रहेको छ । इजरायलले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण शुरू गरेको बताएको छ । यस्तै इजरायली रक्षा बल ९आईडीएफ० ले इरानले क्षेप्यास्त्र प्रहार गरिरहेको जनाएको छ ।

अमेरिकाले मूल्यवृद्धि र विश्वव्यापी आपूर्तिको चिन्तालाई कम गर्न समुद्रमा रोकिएको रुसी तेलमाथिको प्रतिबन्ध खुकुलो पारेको बताएको छ ।

अर्कोतर्फ इरानका नयाँ सर्वोच्च नेताले सत्ता सम्हालेपछिको पहिलो वक्तव्यमा स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने बताउनुभएको छ ।

हर्मुजलाई विश्वभर तेल र ग्यास आपूर्तिका लागि सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ ।

सम्बन्धित खबर