२०८२ फागुन २९ शुक्रवार , ११:३२:४७ बजे

Sajhamanch
'

समानुपातिकतर्फको सिट बाँडफाँट, कुन दललाई कति 

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फको सिट बाँडफाँट गरेको छ ।

यसअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५७, नेपाली कांग्रेसले २०, नेकपा (एमाले)ले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ६१७ मतदान भएकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ ।

दलहरूले प्राप्त गरेको कुल सदर मत संख्याका आधारमा प्रचलित निर्वाचन कानुनबमोजिम तोकिएको थ्रेस होल्ड (३ प्रतिशत) पार गर्ने ६ दलले पाउने सिट निर्धारण गरिएको हो ।

आयोगले ३ दिनभित्र उम्मेदवारको नाम छनोट गरी आयोगसमक्ष पेश गर्न हिजो नै दलहरूलाई पत्राचार गरेको जनाएको छ । समानुपातिकतर्फको औपचारिक नतिजा घोषणासँगै प्रतिनिधिसभामा ६ दल हुने निश्चित भएको छ ।

रास्वपाको प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सहित १८२ सांसद रहने छन् । त्यस्तै, नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी ३८ सांसद रहने छन् । नेकपा (एमाले)को प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ सिट रहनेछ भने नेकपाको प्रत्यक्षतर्फ आठ र समानुपातिकतर्फ ९ गरी १७ सांसद संसद्मा रहने छन् ।

श्रम संस्कृति पार्टीको प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार गरी सात सांसद तथा राप्रपाबाट प्रत्यक्षतर्फ एक र समानुपातिकतर्फ चार गरी पाँच सांसद रहने छन् ।

त्यस्तै, प्रतिनिधिसभामा स्वतन्त्र एक सांसद रहने छन् ।

सम्बन्धित खबर