२०८२ फागुन २८ बिहिवार , १२:४४:२० बजे

Sajhamanch
'

प्रतिनिधिसभामा सीमान्तकृत समुदायको प्रतिनिधित्व कमजोर

बिहिवार, फागुन २८, २०८२

काठमाडौं । प्रतिनिधिसभामा सीमान्तकृत समुदायको उपस्थिति अपेक्षाकृत रूपमा कमजोर देखिएको छ ।

प्रतिनिधिसभा सदस्य चुनावको प्रत्यक्षतर्फ १६५ सिटमध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) मात्रै सीमान्तकृत समुदायका उम्मेदवार निर्वाचित भएका छन् ।

त्यस्तै आदिवासी जनजाति २६ जना (१५.७६ प्रतिशत), मधेशी २८ जना (१६.९७ प्रतिशत), थारू पाँच जना (३.०३ प्रतिशत), मुस्लिम चार जना (२.४२ प्रतिशत) र दलित एक जना (०.६१ प्रतिशत) मात्र निर्वाचित भएका छन् ।

सीमान्तकृत समुदायभित्र पनि झन्डै १३.४ प्रतिशत जनसङ्ख्या भएको दलित समुदायको प्रतिनिधित्व झन् कमजोर देखिन्छ । समानुपातिकतर्फ दलहरूले पाएको मतका आधारमा दलित क्लस्टरबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सात महिला र दुई पुरुष गरी नौ जना, नेपाली कांग्रेसबाट दुई महिला र एक पुरुष, नेकपा (एमाले) बाट एक महिला तथा नेकपाबाट एक महिला गरी जम्मा १४ जना प्रतिनिधिसभामा आउने देखिन्छ ।

यो सङ्ख्या प्रतिनिधिसभाको कुल सदस्यको झन्डै ५ प्रतिशत मात्र हो । अघिल्लो संसद् र संविधानसभाका तथ्याङ्क हेर्दा दलित समुदायको प्रतिनिधित्व क्रमशः घट्दै गएको देखिन्छ ।