२०८२ फागुन २६ मङ्गलवार , ०९:५१:०५ बजे

Sajhamanch
'

प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

मङ्गलवार, फागुन २६, २०८२

काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीश हुन योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्को आज बसेको बैठकले आगामी १८ चैतदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी १८ चैतमा अवकाश हुँदैछन् ।

न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सर्वोच्च अदालतमा तीन वर्ष काम गरेका न्यायाधीशहरू प्रधानन्यायाधीशका लागि योग्य हुन्छन् ।

प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिना पहिले नै नाम सिफारिस गर्ने अभ्यास छ । तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशहरूको नाम सिफारिस गरेपनि संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ ।

प्रतिनिधिसभा निर्वाचन भर्खरै सकिएकाले संवैधानिक परिषद्ले पूर्णता पाएको छैन । अहिले सभामुख, उपसभामुख, प्रमुख विपक्षी दलका नेताको टुंगो लागेको छैन ।

संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुन्छन् ।

सम्बन्धित खबर