२०८२ फागुन २६ मङ्गलवार , ०६:३१:५६ बजे

Sajhamanch
'

मधेस प्रदेशमा ६४७ जना उम्मेदवारले कटाउन सकेनन् १०० मत

मङ्गलवार, फागुन २६, २०८२

जनकपुरधाम । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको मतगणना सम्पन्न भइसक्दा मधेस प्रदेशमा ६४७ जना उम्मेदवारले एक सय मत पनि कटाउन सकेनन्।

निर्वाचन आयोगको मतपरिणाम अनुसार ५१४ जना स्वतन्त्र उम्मेदवार र १३३ जना विभिन्न राजनीतिक दलका उम्मेदवारले १०० मत कटाउन नसकेका हुन्।

मधेस प्रदेशको ८ जिल्लाको ३२ निर्वाचन क्षेत्रमा एक हजार २७ जना उम्मेदवार थिए। जसमध्ये धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका किशोरी साह कमलको अन्तिम समयमा आएर फागुन १८ गते आयोगले उम्मेदवारी खारेज गरेको थियो।

एक जनाको उम्मेदवारी खारेज भएपछि एक हजार २६ जना उम्मेदवार रहेकोमा विभिन्न राजनीतिक दलका उम्मेदवारलाई सघाउनका लागि ‘डम्मी’ उम्मेदवारका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए।

आयोगको मत परिणाम अनुसार नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवार बनेका २१ जनाले १०० वा सोभन्दा कम मत पाएका छन्। प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट उम्मेदवार बनेकामध्ये १४ जनाले सय वा सोभन्दा कम मत पाएका छन्।

यस्तै, राजेन्द्र महतो नेतृत्वका राष्ट्रिय मुक्ति पार्टी नेपालका १३ जना, मंगोल नेशनल अर्गनाइजेसनका १० जना, प्रगतिशिल लोकतान्त्रिक पार्टीका ९ जना, जन अधिकार पार्टीका ५ जना, नेकपा (संयुक्त) का ५, नेकपा (माओवादी) का ५, नेपाल जनता पार्टीका ५, हर्क साम्पाङग नेतृत्वको श्रम संस्कृति पार्टीका ५, नेपाल संघीय समाजवादी पार्टीका ४, नेपालका लागि नेपाली पार्टीका ४, उज्यालो नेपाल पार्टीका ३, जनता लोकतान्त्रिक पार्टी, नेपालका ३, नेपाल लोकतान्त्रिक पार्टीका ३, बहुजन एकता पार्टी नेपालका ३, संयुक्त नागरिक पार्टीका ३ जनाले १०० वा सोभन्दा कम मत पाएका छन्।

यस्तै, जय मातृभूमि पार्टीका २, नागरिक उन्मुक्ति पार्टी, नेपालका २, नेपाली जनता दलका २, प्रजातान्त्रिक पार्टी नेपालका २, राष्ट्रिय जनमोर्चाका २, राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना उम्मेदवारले सय वा सोभन्दा कम मत पाएका छन्।

यस्तै, जनादेश पार्टी नेपाल, युनाईटेड नेपाल डिमोक्रयाटीक पार्टी, राष्ट्र निर्माण दल नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र सार्वभौम नागरिक पार्टीका १/१ जना उम्मेदवारले १०० वा सोभन्दा कम मत पाएका छन्।

सम्बन्धित खबर