
काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले निर्वाचन मार्फत जनताले एमालेको नीति र नेतृत्व अस्वीकृत गरेको बताउनु भएको छ ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले नीति र नेतृत्व पुनर्गठनको बहसमा सहभागी आमसाधरणसँग अपिल समेत गर्नु भएको छ ।
‘निर्वाचनमा आफ्नो मत मार्फत जनताले हाम्रो नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपले अस्वीकृत गर्नु भएको छ । यो आजको वस्तुगत यथार्थ हो,’ भट्टराईले लेख्नु भएको छ, ‘हामीले आफूभित्र सर्वाङ्गीण रूपान्तरण मार्फत जनसमर्थन पुनस् आर्जनको बाटो लिनुपर्दछ ।’
२३ र २४ भदौ पछि पार्टीले लिएको नीतिप्रति असहमति जनाएर पार्टी बैठक र महाधिवेशनमा राखे पनि अस्वीकृत भएको सम्झदै भट्टराईले उक्त बहस पुनः खुला गर्नुपर्ने उल्लेख गर्नु भएको छ । नीति र नेतृत्वबारे बहस गरेर जाँदा एमाले फेरि उठ्ने उहाँले विश्वास समेत गर्नु भएको छ ।
‘कमरेडहरू, हामी ढलेका मात्र हौ, मरेका होइनौं । सही नीति, सही संगठन, सही नेतृत्व, सही व्यवहार र सही कार्यशैली मार्फत हामी उठ्नेछौं र पार्टी, जनता र राष्ट्रको स्वाभिमानलाई फेरि उठाउनेछौ,’ उहाँले लेख्नु भएको छ, ‘संयम र धैर्यताका साथ पार्टी पार्टीको एकता जोगाउन र सही मार्गमा अघि बढ्न र आत्मभस्सर्ना होइन, आत्मसमीक्षाको बाटोमा हिड्न म नेकपा एमालेका सम्पूर्ण कमरेडहरूलाई हार्दिक अपिल गर्दछु ।’


