
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मातृका यादवलाई विजयी भएका प्रमाण पत्र नदिएकोमा आपत्ति जनाएको छ ।
सोमबार केन्द्रीय कार्यालयका सचिव गोविन्द आचार्यले विज्ञप्ति मार्फत निर्वाचन आयोगले निर्वाचन ऐन, २०७४ बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज गरिसकेकोमा विजयी उम्मेदवार यादवलाई प्रमाणपत्र नदिनु गम्भीर विषय भएको बताएको छ ।
‘धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि हाम्रो पार्टीका उम्मेदवार श्री मातृकाप्रसाद यादव विजयी भएको मत परिणाम सार्वजनिक भइसक्दा पनि उहाँलाई आयोगले निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण नगरेकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आयोग स्वयंले फागुन २२ गते मत गणना गरी परिणाम घोषणा गर्न दिएको निर्देशन बमोजिम सबै उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणनासमेत भई नेकपाका उम्मेदवार यादव विजयी भइसक्दा पनि प्रमाणपत्र दिन आलटाल गर्नुका साथै निर्वाचन प्रक्रिया र स्थापित विधि विपरीतका कार्य हुनु चिन्ताजनक विषय भएको उल्लेख छ ।
कानुनसम्मत रूपमा उम्मेदवारी नै खारेज भइसकेको अवस्थामा उम्मेदवार नै नरहेको व्यक्तिसँग सम्बन्धित भनेर प्रमाणपत्र नै वितरण नगर्नु कानुनसम्मत देखिँदैन भनिएको छ ।
साथै निर्वाचन आयोगजस्तो संवैधानिक निकायलाई विधिको शासन पालना गर्न र कुनै पनि राजनीतिक दबाबमा नपरी निष्पक्ष ढङ्गले काम गर्न आग्रह गरेको छ ।
उम्मेदवारी खारेज गर्ने आयोगको निर्णय विरुद्ध साह सर्वोच्च अदालत गएका छन् । आइतबार आयोगले निर्वाचन अधिकृतलाई अर्को पत्र पठाउँदै उम्मेदवारी खारेजको विषयमा अदालतमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले विजेता घोषणा नगर्न भनेको थियो ।


