
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा (एमाले)ले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिने क्रम सुरु भएको छ।
यसै सन्दर्भमा नेकपा (एमाले) मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा घोषणा गर्नु भएको छ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गर्नु भएको हो। उहाँले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न सार्वजनिक चुनौती दिनु भएको छ।
पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले भोगेको परिणामबारे गम्भीर समीक्षा गर्नुपर्ने औँल्याउनु भएको छ। नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उहाँले लेख्नु भएको छ, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इर्ष्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन।’
पोखरेलले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आ–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने बेला आएको भन्दै पार्टी अध्यक्षदेखि महासचिवसम्मको ध्यानाकर्षण गराउनु भएको छ। ‘पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिवलगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्छ, र आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वकाले बाटो प्रशस्त गर्नुपर्दछ,’ पोखरेलले स्टाटसमा लेख्नु भएको छ।
आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्ने उहाँको भनाइ छ। पदबाट राजीनामा दिए पनि पोखरेलले अब आउने युवा पुस्तालाई आफ्नो पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। उहाँले नयाँ युवा पुस्ताले पार्टीलाई सही दिशाबाट अगाडि बढाउने विश्वाससमेत व्यक्त गर्नु भएको छ।
आफूलाई अहिलेसम्म प्राप्त सहयोग, माया र सद्भावप्रति आभार व्यक्त गरेका पोखरेलले जनमतको कदर गर्दै प्रतिनिधिसभामा भर्खरै निर्वाचित सबै सांसदहरूलाई हार्दिक बधाई तथा शुभकामना पनि दिनु भएको छ।
हेर्नुहोस् फेसबुकमा लामो स्टाटस–


