२०८२ चैत २३ सोमवार , ०५:४५:३६ बजे

Sajhamanch
'

इलाम–२ बाट एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी

आइतवार, फागुन २४, २०८२

इलाम । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–२ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार एमाले उम्मेदवार नेम्बाङले नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्यलाई ७ हजार ७७६ मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो ।

नेम्बाङ २२ हजार ४२६ मतका साथ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिनुभयो । उहाँका निकटतम प्रतिष्पर्धी कांग्रेसका आचार्यले १४ हजार ६५० मत प्राप्त गर्नुभयो ।

यस्तै श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार ४०० मत, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राईले ७ हजार ८१४ मत तथा नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङले १ हजार १७२ मत प्राप्त गर्नुभयो ।

प्रतिनिधिसभा सदस्यमा नेम्बाङको यो दोस्रो विजय हो । यसअघि २०८१ वैशाख १५ गते भएको उपनिर्वाचनमा नेम्बाङले यही क्षेत्रबाट कांग्रेसकै उम्मेदवार डम्बरबहादुर खड्कालाई ५ हजार ८२० मतान्तरले पराजित गर्नुभएको थियो । नेम्बाङले २७ हजार ७७२ मत प्राप्त गरी निर्वाचित हुँदा खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो ।

आचार्यको भने यो दोस्रो पराजय हो । यसअघि २०७० सालको संविधान सभा निर्वाचनमा आचार्य सुहाङकै बुबा सुवासचन्द्र नेम्बाङसँग २ हजार १०२ मतले पराजित हुनुभएको थियो ।

यही फागुन २१ गते भएको निर्वाचनमा यो क्षेत्रमा कुल १ लाख १९ हजार ४८९ मतदातामध्ये ६७ हजार ६६४ मत खसेको थियो । यहाँ ३ हजार ८८३ मत बदर भएको छ । यहाँ विभिन्न १३ राजनीतिक दल र एक स्वतन्त्रसमेत गरी जम्मा १४ उम्मेदवार चुनावी प्रतिष्पर्धामा हुनुहुन्थ्यो ।

सम्बन्धित खबर